पोखराको आर्बामा हुने एन्ड्युरो साइक्लिङको तयारी पुरा,१३ देशका ६० साईक्लिस्टले भाग लिने


     एभरेस्ट आवाज    
     कार्तिक २५ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

पोखरा महानगरपालिका वडा नं. १३, आर्बामा हुने पोखरा एन्ड्युरो साईक्लिङ रेस प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको छ ।

डाउन टिल डस्क प्रालिको आयोजनामा यही कात्तिक २७ देखि २९ गतेसम्म आर्बाको महाप्रभु धाममा चल्ने तेस्रो संस्करणको प्रतियोगितामा साइक्लिङको डाउनहिल एक दशमलव ६ किलोमिटरको दूरीमा नेपाल सहित विभिन्न १३ देशका साईक्लिस्टले प्रतिस्पर्धा गर्ने वडाध्यक्ष किरण बरालले जानकारी दिए । नेपालसहित, अस्ट्रेलिया, सिंगापुर, क्यानडा, जर्मन, अमेरिका, ओमान, जापान, श्रीलंका सहितका साईक्लिष्टहरुको सहभागिता हुने पक्का भएको छ । प्रतियोगितामा ६० साईक्लिस्टले भाग लिने छन् भने ६ इभेन्टमा प्रतिस्पर्धा गराईने प्रालिका प्रवन्ध निर्देशक एवं रेस निर्देशक सुनीलचन्द्र शर्माले बताए ।

जुनियर १२ देखि १८ वर्षसम्म, पुरुष एलिट १९ वर्षमाथि खुला महिला १९ वर्षदेखि माथि, मास्टर ए पुरुष ३० देखि ३९ वर्षसम्म मास्टर बी पुरुष ४० देखि ४९ वर्षसम्म र भेट्रान्स पुरुष ५० वर्षमाथिको उमेर समूहमा प्रतिस्पर्धा हुने प्रालिले जनाएको छ । ३० वर्षदेखि साइक्लिङ क्षेत्रमा काम गर्दै आएका रेस निर्देशक शर्माले आर्वासहित मणिदिप क्षेत्रलाई साइक्लिङको गन्तव्य बनाउन विगत ३ वर्षदेखि प्रतिस्पर्धा आयोजना गर्दै आएको बताए । विभिन्न ६ साइक्लिङ रेसका लागि ट्रेल बनाइएको छ । प्रतिस्पर्धामा उत्कृष्ट पाँच प्रत्येक इभेन्टकालाई साईक्लिङ एसोसिरिज पुरस्कार स्वरुप प्रदान गरिनेछ । उत्कृष्ट जम्प गर्ने साईक्लिस्टले ३० हजार बराबरको पुरस्कार प्रदान गरिने प्रालिले जनाएको छ ।

यस प्रतियोगिताले आर्बाको पर्यटन विकास मात्र नभई पोखराको खेल पर्यटनलाई विश्वमाझ पुर्याउने वडाध्यक्ष बरालले बताए । आर्बालाई साईक्लिङका हब बनाउने उद्देश्यसहित प्रालिले सन् २०२० देखि काम सुरु गरेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।