अन्तर्राष्ट्रिय इन्डुरो रेस पोखराको आर्वामा सुरु, ८ देशका ४५ खेलाडी सहभागी


     एभरेस्ट आवाज    
     कार्तिक २७ गते २०८२ मा प्रकाशित




तेस्रो संस्करणको इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक प्रतियोगिता सुरु भएको छ ।

तीन दिनसम्म सञ्चालन हुने यो प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर १३ को आर्बा–बिजय डाँडामा भएको हो । प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा पर्यटनको राजधानी भनिएपनि अन्तर्राष्ट्रिय स्तरका खेल गतिविधि र इभेन्टहरु भइरहने भएकाले पोखरा साहसिक खेलको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए ।

साथै विश्वका विभिन्न देशका बाइकर्सले पोखराको पहाडी सौन्दर्य र चुनौतीपूर्ण ट्रयाकमा प्रतिस्पर्धा गर्न बढी नै रुचाउने गरेको उनले बताए । ुड्रागन बोट रेस, क्रस कन्ट्रीलगायत धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता पोखरामा हुँदै आएकोले पनि खेलकुदसँगै पर्यटन प्रबर्द्धनमा ठूलो टेवा पुगेको छ ।ु मेयर आचार्यले भने । उद्घाटन सत्रको अध्यक्षता गरेका पोखरा वडा १३ का वडाध्यक्ष किरण बरालले पोखरा इन्डूरो रेस पोखराकै ब्रान्डका रूपमा स्थापित भइसकेको बताए ।प्रतियोगितामा जर्मनी, सिंगापुर, अष्ट्रेलिया, युके, श्रीलङ्का, ओमन, अमेरिका र नेपाल गरी ८ देशका ४५ खेलाडी सहभागी छन् । १३ बढी देशका १ सय खेलाडी सहभागी हुने अपेक्षा आयोजक कम्पनी डन टिल डस्कले गरेपनि गत भदौ २३ र २४ गते नेपालमा भएको जेन्जी आन्दोलनले नकारात्मक असर पारेको प्रतियोगिताका रेस डाइरेक्टर सुनिलचन्द्र शर्माको भनाइ छ ।

सहभागी सोचे भन्दा कम भएपनि जति आउनुभएको छ, उहाँहरू पोखराको यो मौसम र भौगोलिक बनावटले निकै खुसी हुनुहुन्छ । त्यसमाथि स्थानीय नागरिक र स्थानीय निकायले देखाएको समन्वयकारी भूमिका निकै प्रसंशनीय छ । डाइरेक्टर शर्माले भने । प्रतियोगितामा पुरुषतर्फ जुनियर १२–१८ वर्ष, महिला खुला १८ वर्ष माथिका, इलिट २९ वर्ष माथिका, मास्टर्स ‘क’ ३०–३९ वर्ष, मास्टर्स ‘ख’ ४०–४९ वर्ष र भेट्रान ५० वर्ष माथि गरि ६ विधामा ६ वटै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ । समुन्द्री सतहबाट १ हजार ३ सय ६० मिटर उचाँईमा रहेको आर्वा–बिजय डाँडामाआयोजक डन टिल डस्कले सन् २०२० देखि तयारी गर्दै उक्त क्षेत्रमा संरचना बनाइरहेको छ ।

यस अघि २०८० र २०८१ सालमा प्रतियोगिता सम्पन्न भइसकेको छ । यो इन्डुरो प्रतियोगिताले विश्वभर ठुलो संख्यामा रहेका माउन्टेन बाइक प्रेमी आकर्षित भई नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुग्ने अपेक्षा आयोजकको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।