बालाचर्तुदशी पर्व धुमधामका साथ मनाउन देशभरका शिव मन्दिर परिसरमा तयारी शुरु भएको छ ।
यही मंसीर ३ गते बुधबारका दिन परेको बालाचतुर्दशी पर्वमा आफ्ना दिवङ्गत भएका पितृहरूको सम्झनामा मृतकका आफन्तजनबाट रातभर दीप प्रज्ज्वलन गरी भोलिपल्ट शतबीज छर्ने प्रचलन रहेको छ । पोखरा सहित आसपासका क्षेत्रमा रहेका शिव मन्दिरमा पनि पर्व मनाउनका लागि तयारी शुरु गरिएको बताईएको छ । पोखरामा भलामस्थित हरिहर गुफा मन्दिर, आर्वाको महाप्रभु धाम, घार्मीको ओमकारेश्वर महादेव मन्दिर,सदाशिव मन्दिर, ढुंगेसाँघु,मासबारको पुश्करेश्वर शिव मन्दिर, लामाचौरको सुरथेश्वर, सन्तानेश्वर शिव मन्दिर, काउरेस्थित अम्मरेश्वर आश्रममा पर्वको तयारी शुरु भएको छ ।
यस्तै पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने पञ्चासे धार्मिक क्षेत्रमा पनि बालाचतुर्दशी पर्व धुमधामका साथ मनाईन्छ ।शतबीज छर्न देशका बिभिन्न भागबाट भक्तजनहरु त्यहाँ पुग्ने गर्छन् । लमजुङ र तनहुँको सिमाना पर्ने पाउँदी र मस्र्याङ्दी नदिको सङ्गम,चितवनको माडीस्थित वैकुण्ठधाम, तनहुँ र चितवनको सिमानामा पर्ने प्रसिद्ध देवघाट, पाल्पा र स्याङ्जाको संगमस्थल राम्दी र सेतीवेणी लगायतका स्थानहरुमा मेला लाग्दछ ।पर्वको पुर्वसन्ध्यामा पोखरा, १३ आर्वा प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल महाप्रभुधाममा हुने बालाचतुर्दशी महोत्सवलाई सफलतापूर्वक सम्पन्न गर्न भोलि बिहान प्रभातफेरी गरिदै छ । पोखरा १३ काहुँखोलाबाट शुरू हुने प्रभातफेरी पोखराका विभिन्न स्थानको परिक्रमा पछी पुन ः काहुँखोलामा पुगी समापन हुने सन्दीप बरालले जानकारी दिएका छन् ।
शतबीज सयवटा बिउ भनिएपनि हाल सप्तबीज धान, जौ, तिल, गहूँ, चना, मकै, कागुनो रोप्ने गरिन्छ । नेपालीमा शतम्को अर्थ सय र बीजको अर्थ बीउ हुन्छ ।यसरी शतबीज भन्नाले सयथरी बीउ भन्ने बुझिएतापनि शतबीजमा मुख्यतः धान, जौ, गहुँ, चना, तिल, कागुनु र मकैलाई मात्र लिने गरिन्छ ।
यसका साथै केरा, उखु, सुन्तला, अनार, भोगटे कागती, निबुवा, विमिरो, अमला छरिन्छ । त्यस्तै मुलाका चाना,गाजर, खुर्सानी र ऋतु पुष्पहरु छर्ने चलन छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







