सिमरा आज पनि कफ्र्यु आदेश जारी,युवा कुटेको आरोपमा एमालेका दुई वडाध्यक्ष पक्राउ


     एभरेस्ट आवाज    
     मंसिर ४ गते २०८२ मा प्रकाशित




बारा जिल्लाको सिमरा क्षेत्र नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहबीच भएको पटक पटकको झडपका कारण आज पनि तनावग्रस्त बनेको छ।

स्थिति नियन्त्रण बाहिर जान नदिन स्थानीय प्रशासनले सिमरा विमानस्थल आसपास र राजमार्गका केही क्षेत्रमा दोस्रो दिन पनि कफ्र्यु आदेश जारी गरेको छ।प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार दिउँसो १ देखि जारी कफ्र्यु बेलुका ८ बजेसम्म रहने छ ।सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा परिस्थिति थप बिग्रन नदिन कफ्र्यु लगाइएको आदेशमा उल्लेख छ । कफ्र्यु अवधिमा उक्त क्षेत्रमा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाइने व्यवस्था छ ।बुधबार पनि त्यहाँ दिउँसो १ देखि बेलुका ८ बजेसम्म कफ्र्यु लगाइएको थियो ।

बुधबार भएको झडपपछि सहमति भएर सडक सञ्चालनमा आए पनि बिहीबार बिहानैदेखि युवाहरू पुनः प्रदर्शनमा उत्रिएपछि अवस्था अशान्त बनेको हो। सडकमा टायर बालेर यातायात अवरुद्ध पार्दै प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा झडप भएको छ । झडपमा परेर दुवैतर्फका केही सामान्य घाइते भएका छन् । झडपको क्रममा युवाहरूले प्रहरीमाथि ढुंगाइँट्टा प्रहार गरेपछि प्रहरी पछि हटेको छ । झडपका क्रममा केही युवाहरूले सिमरा विमानस्थलको गेट तोडफोड समेत गरेका थिए। स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो।हिजोको घटनामा जेनजी युवालाई कुटपिट गर्नेहरूलाई प्रहरीले कारबाही नगरेको भन्दै आज प्रदर्शन गरेको जेनजी प्रदर्शनकारीको भनाइ छ ।

प्रहरीले भने कुटपिटमा संलग्न दुईजनालाई पक्राउ गरेर अदालतबाट म्याद थपको प्रक्रिया अगाडि बढाइसकेको बताएको छ । प्रदर्शनकारीले भने पक्राउ परेकालाई सिमरा चोकमा ल्याउनु पर्ने माग गर्दै नारावाजी गरिरहेका छन् । जेनजी युवामाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुईजना वडाध्यक्षलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा जितपुर–सिमरा उपमहानगरपालिका–२ का अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमोदिन अन्सारी छन् । दुवै एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।बुधबार सिमरामा भएको वादविवादको क्रममा जेनजी युवालाई कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय बाराले उनीहरूलाई पक्राउ गरेको हो ।

आफूहरूमाथि कुटपिट भएको भन्दै जेनजी अगुवा सम्राट उपाध्यायले श्रेष्ठ र अन्सारीसहित ६ जनाविरुद्ध बुधबार किटानी जाहेरी दिएका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।