स्मृतिमा स्वर्गीय मेघराज शर्मा गुरु


     रामबहादुर बाँनिया    
     मंसिर १२ गते २०८२ मा प्रकाशित




बाटुलेचौरको अधिकारी परिवारका नन्दिकेशरका दुई भाई छोरा मध्ये जेठा हुनुहुन्थ्यो मुखिया नन्दराज अधिकारी। उहाँका तीन भाई मध्ये कान्छा हुनुहुन्थ्यो मेघराज शर्मा।

पोखरा १६, मैदानमा जन्मनु भएका शर्मा, घरेलु शिल्पकला कार्यालयमा खरीदार पदमा कार्यरत हुनुहुन्थ्यो। कार्यरत भएकै अवस्थामा उहाँको सरूवा बाग्लुङमा भयो । बाग्लुङमै उहाँले बिबाह गर्नु भयो र उहाँबाट ३ छोरा र १ छोरीको जन्म भयो। बाग्लुङ माईत भएका कारण प्राय मान्छे उहाँलाई बाग्लुङे भनेर पुकार्थे भने मेघराज गुरूले मान्छे भनेर बोलाउनु हुन्थ्यो। जागिर छाडेर आए पछि उहाँले कृषि विकास बैंकबाट ऋण लिएर बाटुलेचौर मैदान स्थित आफ्नै घरमा काठका तानहरू राखेर घरेलुका सारीहरू बुन्ने घरेलु उद्योग खोल्नु भयो । त्यतिबेला यस्ता सारीहरू लोकप्रिय थिए। काठमाण्डौंको पद्मकन्या कलेजमा अध्ययनरत छात्राहरूको ड्रेस पनि यिनै सारीहरू हुन्थे। एक किसिमको राष्ट्रप्रेम थियो । त्यतिबेला कलेज पढने युवाहरूले नेपालमै बुनेका गणेश छाप कपडाबाट सिलाइएका कमिजहरू लगाउने फेसननै चलेको थियो।

मेघराज शर्मा आफ्नो घरेलु उद्योगको बाबजुद लेखापढी९रकमी० को काम पनि गर्नुहुन्थ्यो। बिभिन्न कपाली तमसुक, राजिनामा तमसुक,बन्दगी तमसुक,भरपाई ,मिलापत्र, निवेदन आदी लेखी दिने कार्यहरु गर्नुहुन्थ्यो । यि कामका अतिरिक्त उहाँ तत्कालिन बाटुलेचौर गाउँ पञ्चायतको वार्ड सदस्यको रुपमा पनि सक्रिय हुनुहुन्थ्यो। त्यसै मार्फत उहाँ बिकास निर्माण कार्यहरूमा सक्रिय हुनुभयो। त्यतिखेर युएस एडको सहयोगमा कामको लागि खाद्यान्न कार्यक्रम संचालित थियो । त्यस कार्यक्रममा उहाँ सक्रिय रूपमा लाग्नु भएको थियो । आफू सदस्य हुँदा जनश्रमदान चलाउने र जन श्रमदानबाट बिभिन्न बाटाघाटोहरू चक्ल्याउने काम भएको थियो।

उहाँ चार पटक वडाध्यक्षमा चुनाव लडनु भयो र एक पटक मात्र बिजयी बन्नु भयो । २०४२ सालमा खुकूरी चिन्ह लिएर चुनाव लड्दा उहाँले बिजय प्राप्त गर्नु भएको थियो। बि.सं २०४६ साल चैत्र २६गते नेपालमा प्रजातन्त्र पूनर्बहाली भयो । प्रजातन्त्र पुर्नबहाली पश्चात उहाँ नेपाली कांग्रेसमा प्रबेश गर्नुभयो । उहाँको प्रवेश पछि नेपाली कांग्रेस ईकाई समिति बाटुलेचौरको रक्त संचार भयो । नेपाली कांग्रेस पार्टीमा रहँदा बिभिन्न किसिमका समस्याहरू झेल्नुपर्यो । बि.सं २०५१ सालको निर्वाचनमा उहाँ नेपाली कांग्रेश पार्टीबाट वार्डअध्यक्ष पदमा निर्वाचन लड्नु भयो र पराजित हुनुभयो । उक्त पार्टीसँग उहाँको सम्बन्ध चिरस्थायी हुन सकेन। बि.सं २०५६ सालको निर्वाचनमा वार्ड अध्यक्षमा लडन उहाँले सो पार्टीबाट टिकट पाउनु भएन र स्वतन्त्र तवरबाट निर्वाचन लडनु भयो र सम्मानजनक भोट ल्याई पराजित हुनु भयो । शाही शासन कालमा उहाँ मनोनित वार्ड अध्यक्ष बन्नु भयो । यहि बेला मैदान चोकलाई कुलमण्डन चोक नामाकरण गर्दै संरचना निर्माणको लागि शिलान्यास भयो तर सार्थकता पाउन सकेन।

उहाँ विन्ध्यवासिनी मावि शिक्षक अभिभावक संघको अध्यक्ष भई अंग्रेजी माध्यममा लैजान गहन भूमिका खेल्नु भयो । रबि बाली को उहाँ अभियन्तानै हुनुहुन्थ्यो। मृत्यू पर्यन्त न्यायिक निकायको भूमिका बहन गरीरहनु भयो । सबै उमेर समूहका मान्छेसँग मिल्न सक्ने उहाँको खुबी थियो । सकारात्मक सोच र आफू सक्य सहयोग गर्ने बानि थियो उहाँको । आफ्नै पहलमा जनसेवा सामुदायिक बिकास संस्था गठन गरी समाज सेवामा जुटनु भएको थियो उहाँ। कालिका मन्दिर पूनर्निमाण र सामुदायिक भवन निर्माणमा अहम भूमिका निर्वाह गर्नु भएको थियो उहाँले ।

उहाँले बेलाबखत रमाइला प्रसङ्ग हरूपनि सुनाउनुहुन्थ्यो। एउटा प्रसङ्गमा उहाँले भन्नु भएको थियो एक पटक गाउँमा शुरो र बहादुर भनेर कहलिएको मानिसको झगडा अर्को त्यस्तै मान्छे सँग भएछ। दुई बिच धकला धकल ,कुस्ता कुस्ति, लछारा पछार भएछ ।अन्त्यमा गाउँमा बहादुर भनिएकोलाई अर्कोले पछारेरै घोडा चढेछ । अनि सबैले छुट्याई दिएछन। उसलाई लाजमर्दो भएछ। पराजयको पिडाले रातो पिरो भएको उ कपडा टक्टक्याउँदै गाउँलेहरु नजिक आएर लाज पचाउँदै भनेछ के गर्नु बल त आइथ्यो नी तर करै पाइन र पो ।

उहाँको अचम्मको बानि थियो । श्रीमतीलाई नाम काढेर नबोलाई मान्छे भनेर बोलाउने। एकदिन झिसमिसेमै उहाँलाई चुरोट पिउन मन लागेछ । सलाई खोज्दा सलाई पाउनु भएनछ र ओछ्यानबाटै श्रीमतीलाई आगो ल्याईदिन बोलाउनु भएछ ओ मान्छे सलाइ लेउ त । त्यतिनै बेला मैदानको बाटो भएर दुध बेच्न हिंडेको मान्छेले त्यो वाक्य सुनेछ र उसलाई लागेछ त्यो सलाई उ आफैंसँग मागिएको हो । उ हत्त न पत्त सलाई लिएर मेघ गुरू छेउ पुगेछ र भनेछ ल लिनोस हजुर सलाई । एक छिन त मेघ गुरू अक्क न बक्क हुनु भएछ । जमानसिंहको घट्टा भन्दा पर गैराभलाम जाने बाटोको दोबाटो निर एउटा ठूलो ढुङ्गा छ। ढुङ्गाको कारणले ठाउँको नामनै ठूल ढुङ्गा। त्यो ठूलो ढुङ्गा बीचबाट ठाडै चिरीएको छ। अचम्म लाग्दो । एक दिन शेराको पाखो खेतमा पानी लगाउन जाँदा बसन्त दाईले सोध्नु भयो यो ढुङ्गा कस्ले फोडेको थाहा छ अनभिज्ञता दर्शाउँदै मैले जवाफ फर्काए अहँ, थाहा छैन। कौतुहलता छायो र प्रति प्रश्न गरेँ, कस्ले फोरेको हो र प्रत्युत्तरमा बसन्त दाईले भन्नुभयो मेघराजले फोरेका हुन्। भर्खर भर्खर बाटुलेचौरको राजनितीमा उदियमान मेघराजको नाम मानस्पटलमा छायो र तुरून्तै भने तिनै मैदानका मेघराजले हो। दाईले हाँस्दै भन्नुभयो, आकाशका मेघराजले। त्यो जवाफ सुनेर म पनि हाँस्न थालें।

एउटा विकासप्रेमी, समाजसेवी मेघ गुरू यतिबेला सबैको मानस्पटलमा स्मृत हुनुहुन्छ । गुरुप्रति भावपूर्ण श्रद्धाञ्जली ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।