ठकुरी युवा परिवार कास्कीको नेतृत्व विकास तालिम सम्पन्न


     एभरेस्ट आवाज    
     मंसिर १४ गते २०८२ मा प्रकाशित




ठकुरी युवा परिवार कास्कीद्वारा आयोजना गरिएको ‘अवचेतन मनको शक्ति र नेतृत्व विकास’ विषयक प्रशिक्षण कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

युवाको क्षमता अभिवृद्धि र नेतृत्वशीलता विकास गर्ने उद्देश्यले गरिएको उक्त तालिमले सहभागीहरूमा अत्यन्त उत्साहजनक प्रभाव पारेको आयोजकले जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि ठकुरी समाज महासंघ, नेपालका अध्यक्ष खिम बहादुर शाही लक्ष्मणले युवालाई सक्षम, सजग र परिवर्तनकारी शक्ति बनाउन यस्ता कार्यक्रम अत्यावश्यक रहेको बताए । कार्यक्रमका प्रमुख प्रशिक्षक सामाजिक मनोविज्ञ डा. दलिप कुमार मल्लले अवचेतन मनको शक्ति, सकारात्मक सोच, आत्मा अनुशासन र नेतृत्व क्षमताको गहिरो प्रभावबारे व्यावहारिक प्रशिक्षण प्रदान गरे ।

५० जना भन्दा बढी सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा हालसम्म ६९ वटा यस्ता तालिम सञ्चालन गरेका डा. मल्लले आफ्नो अनुभव सुनाउँदै सामाजिक रूपान्तरणमा युवा पुस्ताको अग्रणी भूमिकाको आवश्यकता औँल्याए । यस्तै ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमालले युवालाई लक्षित कार्यक्रमले आत्मविश्वास अभिवृद्धि, व्यक्तित्व विकास र नेतृत्व क्षमताको विस्तारमा महत्त्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे । कार्यक्रममा सल्लाहकार दुर्गा शाह ‘बाबा’, टुक बहादुर मल्ल, अनिल कुमार शाही, सन्तोष शाही लगायतले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै युवालाई निरन्तर यस्ता ज्ञानमूलक गतिविधिमा सहभागी बन्न आग्रह गरे।

कार्यक्रमका उपाध्यक्ष ज्योति हमाल , सचिव मोहन शाहीले युवाहरूको उत्साहपूर्ण उपस्थिति, सकारात्मक उर्जा र प्रेरणादायी प्रशिक्षणका कारण कार्यक्रम अझ प्रभावकारी र सफल बनेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।