नेपाल प्रहरीको तथ्याङ्कले आफन्त र नाता पर्नेहरूबाटै महिला बढी हिंसामा पर्ने गरेका देखिएको छ ।
प्रहरी प्रधान कार्यालयले महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आज वार्षिक तथ्यपत्र सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागकी प्रहरी उपरीक्षक बसुन्धरा खड्काले ९१ प्रतिशत यौनजन्य हिंसा आफन्त र नातेदारबाटै भएको पाइएको तथ्यपत्रबारे प्रस्तुतीकरण दिईन् । उनले घरेलु हिंसाको दर पनि अत्याधिक रहेकाले आफैँ र घरपरिवारबाट सुधार हुन जरुरी रहेकोमा जोड दिईन् ।
कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले हिंसाका घटना बढ्नुका साथै अझै उजुरी दिने क्रम पनि बढेको बताए ।पहिले महिलाहरू हिंसा लुकाएर राख्ने गरेकामा विस्तारै खुल्दै गएकाले पनि हिंसाका उजुरी बढिरहेको उनले उल्लेख गरे । यो तथ्याङ्कले अझै पनि सामूहिक प्रयासमार्फत हिंसा न्यूनीकरणमा लाग्न हामी सबै एकजुट हुनुपर्छ भन्ने देखाएको उनको भनाइ छ ।
महानिरीक्षक कार्कीले अनुसन्धान र कारबाही जारी रहे पनि अपराधका घटनाको गति नरोकिएकामा चिन्ता प्रकट गर्दै त्यसतर्फ हामी सबैले प्रयास गर्नुपर्नेमा उनले जोड दिए । विभागकी प्रहरी उपरीक्षक खड्काले सूचना प्रविधिको विकाससँगै हिंसाका घटनामा बढोत्तरी भएको उल्लेख गर्दै यसलाई रोक्न प्रहरी एक्लैले नसक्ने धारणा राखिन् । कार्यक्रममा स्वास्थ्य सेवा विभागकी उपसचिव कविता अर्यालले महिला हिंसाबाट कुनै प्रदेश र कुनै उमेर समूह अछुतो नरहेको बताउँदै नातागोताबाटै हिंसा हुनु अति चुनौतीपूर्ण विषय भएको उल्लेख गरिन् । अहिले पनि २८ प्रतिशत मात्रै पीडित महिला ‘हिंसा भयो’ भनेर मद्दत माग्न आउने गरेका जनाउँदै उनले बाँकी समाजमा लुकेर रहनु डरलाग्दो विषय भएको बताईन् ।
राष्ट्रिय महिला आयोगकी रोशनीदेवी कार्कीले ‘खबर गरौँ ११४५’ अभियान सञ्चालन गरिएको जानकारी दिँदै हिंसाका घटनामा ‘होस्टाइल’ हुने समस्या विकराल रहेको उल्लेख गरिन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





