पोखरामा पहिलोपटक आयोजना गरिएको पोखरा रात्रिकालीन सडक दौड प्रतियोगिता २०८२÷८३ को आयव्यय सार्वजनिक गरिएको छ ।
पोखरा क्लिक र पोखरा प्रवद्र्धन केन्द्रद्वारा आयोजित तथा पोखरा महानगरपालिका–९ को विशेष सहकार्यमा गत चैत २८ गते सम्पन्न प्रतियोगिताबाट कुल ३ लाख ३२ हजार २ सय ५० रुपैयाँ आम्दानी भएको छ भने प्रतियोगिता सञ्चालनका लागि ३ लाख ९० हजार १ सय रुपैयाँ खर्च भएको आयोजकले जनाएको छ । यससँगै प्रतियोगितामा ५७ हजार ८ सय ५० रुपैयाँ घाटा भएको प्रतियोगिताका संयोजक दीननाथ बरालले जानकारी दिए । आइतबार प्रेस विज्ञप्तिमार्फत आयव्यय सार्वजनिक गर्दै संयोजक बरालले केही संघसंस्था तथा सहयोगी निकायले प्रतिबद्धता जनाएको रकम समयमै प्राप्त हुन नसक्दा पहिलो संस्करणमै संस्थाले घाटा व्यहोर्नुपरेको बताए । उनका अनुसार आगामी दिनमा बाँकी सहयोग रकम प्राप्त भएपछि घाटा केही हदसम्म न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
प्रतियोगिताका लागि पोखरा महानगरपालिका वडा नं. ९ को कार्यालयबाट ४२ हजार ५ सय रुपैयाँ, पोखरा भ्रमण वर्ष (पोखरा महानगरपालिकाको आर्थिक विकास महाशाखा) बाट ३५ हजार रुपैयाँ, खेलाडी दर्ता शुल्कबाट ६० हजार रुपैयाँ तथा विभिन्न संघसंस्था र सहयोगी निकायबाट आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । त्यसैगरी खर्चतर्फ नगद पुरस्कारमा ५१ हजार रुपैयाँ, प्रचारप्रसार तथा पत्रकार सम्मेलनमा ५५ हजार रुपैयाँ, खाजा तथा खानामा ८१ हजार १ सय रुपैयाँ, प्रवद्र्धनात्मक टी–सर्ट खरिदमा ८४ हजार रुपैयाँ, स्वयंसेवक परिचालनमा ४० हजार रुपैयाँ लगायतका शीर्षकमा रकम खर्च गरिएको उल्लेख गरिएको छ । संयोजक बरालले छोटो तयारीका बीच प्रतियोगिता आयोजना गर्दा केही आर्थिक भार व्यहोर्नुपरे पनि पहिलो संस्करणबाटै प्रतियोगिताले पोखराको नयाँ खेलकुद इभेन्टका रूपमा सकारात्मक पहिचान बनाउन सफल भएको दाबी गरे ।
उनले आगामी वर्षहरूमा यस प्रतियोगितालाई अझ व्यवस्थित, भव्य र दिगो रूपमा निरन्तरता दिइने बताए । रातिको समयमा पनि खेलकुद गतिविधि सञ्चालन गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नुका साथै खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको थियो । प्रतियोगितामा नेपालसहित पाँच देशका १४५ जना धावक सहभागी भएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठ पोखरा, असार २८ सरकारले चर्को जरिवाना शुल्क तोकेर यातायात सञ्चालन…






