पोखरा — लगातारको वर्षापछि अन्नपूर्ण पदमार्ग क्षेत्रमा बाढी–पहिरोको जोखिम बढेको भन्दै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीले पर्यटक, पदयात्री, गाइड तथा पर्यटन व्यवसायीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
टान गण्डकीका अध्यक्ष कृष्ण आचार्यले आइतबार जारी गरेको अपिलमा कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ अन्तर्गत पर्ने कुम्रुङ खोला र मोदी नदीमा आएको बाढीले पदमार्गमा क्षति पुर्याएको उल्लेख गरिएको छ। बाढीले घुर्जुङ तर्ने झोलुङ्गे पुल, अन्नपूर्ण आधार शिविर जाने मुख्य पदमार्ग र स्याउली बजार क्षेत्रमा क्षति पुर्याउनुकाब साथै वनठाटीमा समेत पहिरोले दुईवटा होटल बगाएको टान गण्डकीको विज्ञप्तिमा उल्लेख छ ।
टानगण्डकीले बाढी र पहिरोका कारण पदमार्गमा पुगेको क्षतिको उचित व्यवस्थापन गर्नुका साथै पदमार्ग आवागमन सहज बनाउन पनि ध्यानाकर्षण गराएको छ।
टान गण्डकीले प्राकृतिक विपद्का कारण पदमार्ग क्षेत्रमा रहेका पर्यटक तथा गाइड–पदयात्रा सहयोगीहरूको सुरक्षाप्रति गम्भीर चासो व्यक्त गर्दै जोखिमयुक्त क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ। यात्रा गर्नै परे मौसमको अवस्था, भौगोलिक जोखिम तथा सम्बन्धित निकायबाट प्राप्त सूचनाका आधारमा मात्रै अघि बढ्न अनुरोध गरिएको छ।
फिल्डमा रहेका गाइड तथा पदयात्रा सहयोगीलाई टान सचिवालय, सम्बन्धित ट्रेकिङ एजेन्सी, स्थानीय तह, एक्याप र पर्यटन प्रहरीसँग निरन्तर सम्पर्कमा रहन पनि अपिल गरिएको छ। कुनै पनि आकस्मिक अवस्था आए तत्काल सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित रहन टानले आग्रह गरेको छ।
टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यद्वारा हस्ताक्षरित अपिलमा नागरिक तथा पर्यटकको जिउधनको सुरक्षा नै पहिलो प्राथमिकता भएकाले सबैलाई सजग र सुरक्षित रहन आग्रह गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


काठमाडौं, ३० असार — मौसम पूर्वानुमान महाशाखाले गण्डकीसहित देशका विभिन्न क्षेत्रमा आगामी…






