पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न,आइक्यूएसी प्रमुख रिमाल सहितका सहयोगदाता सम्मानित


     एभरेस्ट आवाज    
     मंसिर १५ गते २०८२ मा प्रकाशित




पोखराको सबैभन्दा पहिलो सामुदायिक क्याम्पस,पोखरा बहुमुखी क्याम्पसको ३९ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

उक्त अवसरमा क्याम्पसमा बिभिन्न संकायमा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलार्इ पुरस्कृत, क्याम्पसलार्इ सहयोग गर्ने चन्दादाता र उत्कृष्ट प्राध्यापक तथा कर्मचारीहरुलाइ सम्मान गरिएको थियो ।सम्मानित हुने चन्दादाताहरुमा पोखरा ४ निवासी भूवन सिंह गूरुङ, युगेन पालिखे, कृष्ण पोखरेल, र अमरसिंह मावि २०२७ एसएलसी व्याच रहेका छन्।त्यस्तै उत्कृष्ट प्राध्यापकका रुपमा आइत कुमारी गुरुङ र उत्कृष्ट कर्मचारीका रुपमा लक्ष्मी वास्तोलालार्इ सम्मान गरिएको छ ।समारोहमा बिभिन्न शैक्षिक संकाय तथा शैक्षिक कार्यक्रममा उत्कृष्ट हुने बिद्यार्थीलाइ पुरस्कार तथा छात्रवृति वितरण गरिएको थियो । क्याम्पसमा हालसम्म करिव दुइ दर्जन अक्षयकोष तथा छात्रवृतिकोष स्थापना भएका छन् ।

सो अवसरमा सप्ताहव्यापी कार्यक्रम अन्र्तगत बिभिन्न प्रतियोगितामा बिजयी हुने बिद्यार्थीहरुलाइ पनि पुरस्कृत गरिएको थियो । जसमा नेपाली र अंग्रेजी निबन्ध तर्फ क्रमश एलिना क्षेत्री, दिया थापा र विमला श्रेष्ठ , त्यसैगरी सुस्मीता आचार्य, अपेक्षा गुरुङ, र संजय श्रीस प्रथम, द्धितिय र तृतीय भएका थिए । भाषणकला तर्फ सुप्रिया अधिकारी, कृतिका रार्इ, सजिता सापकोटा र मनसुन गिरी क्रमश प्रथम, द्धितिय, तृतीय र सान्त्वना भए ।उनीहरुलाई त्रिभूवन विश्वबिद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसे, क्याम्पस संचालन समितिका अध्यक्ष नरेन्द्रमान लालचन लगायतले सम्मान गरे ।

यसअघि समारोहको उद्घाटन गर्दै त्रिभूवन विश्वबिद्यालय व्यवस्थापन संकायका डिन प्रोफेसर डाक्टर महानन्द चालिसेले, पछिल्लो पुस्ताको चाहना, माग र रुची अनूरुप त्रिभूवन विश्वबिद्यालयले पाठ्य सामग्री तथा पठनपाठन ढाँचा परिवर्तन गर्ने योजनामा रहेको बताए । उनले पछिल्लो पुस्ताको पाठ्यक्रमलाइ उत्पादन र उद्यमशिलतासँग जोड्नु पर्ने भन्दै सोहि अनुरुप त्रिभूवन विश्वबिद्यालय अघि बढिरहेको जानकारी दिए । उनले त्रिविमा परिक्षा संचालन, नतिजा प्रकाशन लगायतका प्रक्रियाहरु निर्धारित समयमै सम्पन्न गरिने पद्दतीहरु तिव्रताका साथ विकास भइरहेको र देशकै ठूलो शैक्षिक निकाय त्रिबि प्रति सदैव आशावादी बन्न विद्यार्थीलाइ हौसला दिए । क्याम्पसको वार्षीक प्रतिवेदन प्रस्तुत गर्दै क्याम्पस प्रमूख शिशुकला पराजुलीले पछिल्ला दिनमा यस क्याम्पसमा शैक्षिक र अतिरिक्त क्रियाकलाप प्रति समेत विद्यार्थीहरुले उत्कृष्टता हासिल गर्दै आइरहेको बताउँदै विद्यार्थीको जोस जाँगर र उत्साहलार्इ कायम राख्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा जनप्रिय बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान बिजुक्क्षे, पोखरा बहुमुखी क्याम्पस संचालन समितिका सल्लाहकार शंकर देवकोटा, उपाध्यक्ष बद्री श्रेष्ठ, क्याम्पस प्राध्यापक संघका अध्यक्ष भिम प्रसाद न्यौपाने, सम्मानीत प्राध्यापक आइतकुमारी गुरुङ, नेचर क्लवका अध्यक्ष गणेश रामदाम, सुस्मीता तामाङ, मनसुन गिरी लगायतले बोलेका थिए ।यसैबिच क्याम्पसको वृहत्तर हितका लागि पुर्याएको योगदानको कदर गर्दै क्याम्पसका बरिष्ठ प्राध्यापक तथा क्याम्पस आन्तरिक गुणस्तर सुनिश्चत सर्कल ९आइक्यूएसी० प्रमुख महेन्द्र प्रसाद रिमाललाइ सम्मान गरिएको थियो । आइक्यूएसि प्रमुखका रुपमा उनको महत्वपुर्ण योगदान रहेको क्याम्पस प्रमुख पराजुलीले बताईन् । रिमाललार्इ क्याम्पस संचालन समितिका सल्लाहकार शंकर देवकोटा, अध्यक्ष नरेन्द्रमान लालचन, कोषाध्यक्ष शंकर गुरुङ , पूर्व क्याम्पस प्रमुख हस्त बहादुर थापा र क्याम्पस प्रमुख पराजुलीले सम्मानपत्र तथा पुष्प गुच्छा मार्फत सम्मान गरेका थिए ।

क्याम्पस संचालन समितिका अध्यक्ष नरेन्द्रमान लालचनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन क्याम्पसका आन्तरिक गुणस्तर सुनिश्चित समितिका संयोजक महेन्द्र प्रसाद रिमालले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।