मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन् ।
किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम पर्वका नाममा उँधौली धुमधामसँग मनाउँदैछन् । लिम्बूहरूले चासोक तङ्नाम पर्व तीन दिनअघि नै मनाउन सुरु गरेका थिए । यो पर्वको पहिलो दिन थियो । आज संयुक्त रूपमा यस समुदायका सबैले उँधौली सकेला अर्थात् उँधौली पर्व मनाउँछन् ।
किराँत समुदायले आपूmले लगाएको अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई पर्वका रूपमा मनाउँछन् । बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उँभौली पर्व मनाइने प्रचलन छ । भूमिपूजाका लागि बिहानैदेखि किराँत महिला तथा पुरुषहरू जातीय वेशभूषामा सजिएर च्याबु्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ ।
ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ । आज त्यहाँ चाड विशेष रूपमा मनाइन्छ । उँभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला ९भूमे० लाई धन्यवाद दिने पर्वका रूपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ । दुवै पर्वलाई किराँत समुदायले भव्य रूपमा मनाउँछन् ।
खस आर्यले मनाउने धान्य पूर्णिमा, नेवार समुदायले मनाउने यः मरि पुन्हि अर्थात् योमरी पूर्णिमा र किराँत समुदायले मनाउने उधौली पर्वको भाव भने एकै छ । नयाँ अन्न बाली भित्र्याएपछि आ आफूले मानेका देवी देवतालाई चढाएर खाने परम्परा । यस पर्वका अवसरमा विगतमा काटिएको बिदालाई सरकारले पुनः दिन थालेको छ । यस अवसरमा आज देशभर सार्वजनिक बिदा दिइएको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले किराँत समुदायको उधौली पर्वका अवसरमा शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।
प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुदायिक र सामाजिक एकता कायम राख्न सहयोग गरेको राष्ट्रपतिले सन्देशमा बताए। उधौली पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि भई राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास राष्ट्रपतिले सन्देशमा व्यक्त गरेका छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






