आइटिएफ जे ३० टेनिस टुर पोखरा ः कोरियाका युल र नेपालकी शिवालीलाई दोहोरो उपाधि, शिवालीले रचिन इतिहास


     एभरेस्ट आवाज    
     मंसिर २० गते २०८२ मा प्रकाशित




कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो उपाधि जित्दै ऐतिहासिक सफलता हात पारेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको ब्वाइज सिंगल्स फाइनलमा युल हो जुङले श्रीलंकाका गानुका फर्नान्डोलाई रोमाञ्चक टाइब्रेकमा ६–२, ६–७(७) ले पराजित गर्दै उपाधि जिते । गल्र्स सिंगल्सतर्फ नेपालकी शिवाली गुरुङले ताइपेइकी के–ची सुलाई ६–२, ६–२ को सोझो सेटमा हराउँदै उपाधि हात पारिन् । डबल्सतर्फ पनि युल र शिवाली दुबै विजेता बने । ब्वाइज डबल्समा कोरियाका हियोजिन हा र युल हो जुङको जोडीले भारतका फजल अली मिर र हङकङका सेल्विन युएन वङको जोडीलाई ३–६, ६–३, १०–८ ले हराउँदै उपाधि जित्यो । गल्र्स डबल्समा शिवाली गुरुङ र के–ची सुको जोडीले भारतकी सौम्या चटर्जी र रञ्जना सग्रामलाई ६–२, ६–२ ले पराजित गर्दै उपाधि चुमे ।

पहिलो सर्किट अन्तर्गतका विजेताहरूलाई नेपाल टेनिस संघका उपाध्यक्ष विनोद कायस्थ, कास्की टेनिस संघका निवर्तमान अध्यक्ष लोक बहादुर गुरुङ, सल्लाहकारद्वय गोपी भट्टराई र सूर्य बहादुर भुजेल, प्रथम उपाध्यक्ष नविन चालिसे र द्वितीय उपाध्यक्ष नविन श्रेष्ठ, सचिव भिष्मराज पौडेललगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरेका थिए । टुर्नामेन्ट डाइरेक्टर अजय विष्टका अनुसार पहिलो सर्किट शनिबार सम्पन्न भएसँगै दोस्रो सर्किटको क्वालिफायर राउन्ड शनिबारबाटै सुरु भइसकेको छ भने मुख्य खेलहरू सोमबारबाट सुरु हुनेछन् ।

नेपाली जुनियर टेनिस खेलाडी शिवाली गुरुङले सबैभन्दा कम उमेरमा आइटिएफ जे–३० प्रतियोगिता जित्ने नेपाली खेलाडी बनेर इतिहास रचेकी छन् । भर्खर १४ वर्षमा प्रवेश गरेकी शिवालीले पहिलो पटक सिंगल्स र डबल्समा दोहोरो उपाधि जित्दै ३७ अंकसमेत प्राप्त गरेकी छन् । उनी अर्को महिना अस्ट्रेलियामा आयोजना हुने ग्राण्डस्लाम अस्ट्रेलियन ओपन इलाइट ट्रफी २०२६ मा सहभागी हुने पहिलो नेपाली खेलाडीसमेत बन्नेछिन् ।

मंसिर २७ गतेसम्म दुई साता लगातार सञ्चालन हुने आइटिएफ वल्र्ड टेनिस टुर जे–३० सर्किट १ र २ मा १६ देशका ८० खेलाडीहरूको सहभागिता रहेको छ । जसमा ब्वाइजतर्फ ५५ र गल्र्सतर्फ २५ जना खेलाडी सहभागी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।