पोखरा । इतु जोजिजु क्रियशन पोखराको आयोजनामा स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति साङ्गीतिक कार्यक्रम २०८२ पोखरामा सम्पन्न भएको छ । पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्ष हलमा सम्पन्न सांगितिक प्रस्तुतीको शुरुवात तपस्या शाहीले “चिनारी हाम्रो धेरै पुरानो” गीतबाट गर्नुभयो। त्यसपछि प्रसिद्धि भुर्तेलले “यति चोखो यति मीठो”, उपमा शर्माले “केही मीठो बात गर”, मान्यता छेत्रीले “मलाई माफ गरिदेऊ”, सुमन भण्डारीले “कसरी म भुले”, आइरा गुरुङ र निआ श्रेष्ठले “तिम्रो मनमा”, आरोही थापाले “पोखिएर घामको झुल्का”, आरुसी खनालले “अल्झेछ क्यारे”, सायुरी प्रजु र याबी भारीले “सिरिमा सिरी”, श्रव्या गुरुङले “पर्खी बसे”, सुमन भण्डारी र तपस्या शाहीले “तिमीलाई म के भनु” गीत प्रस्तुत गरेका थिए।अतिथि कलाकार सन्तोष बस्यालले “गल्ती हजार हुन्छन्” गीत प्रस्तुत गरेका थिए। गायिका इतु जोजिजुले “तिमी जुन रहरले” र गायक रामभक्त जोजिजुले “मलाई नसोध” गीत प्रस्तुत गर्दा हलमा उत्साहपूर्ण माहोल बनेको थियो।
कार्यक्रमका प्रमुख अतिथिका रूपमा ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरी बहादुर बुढाथोकीज्यू उपस्थित रहनु भएको थियो। उहाँले दीप प्रज्वलन गर्दै कार्यक्रमको औपचारिक सुरुवात गर्नुभयो।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै इतु जोजिजु क्रियशनका प्रबन्ध निर्देशक इतु जोजिजुले J.E को अर्थ स्पष्ट नभएकाले सबैको सुझावअनुसार आफ्नै नामबाट संस्थाको नाम परिवर्तन गरिएको जानकारी गराउनुभयो।

कार्यक्रममा वरिष्ठ सङ्गीतकार कृष्ण श्रेष्ठ, गीतकार प्रतिष्ठान नेपालका अध्यक्ष अनुराग अधिकारी, गायिका अजुदा थापा, गायिका कौशल्या गुरुङ, गायक फिरोज बज्राचार्य, नेवा मिसा पुचका अध्यक्ष सङ्गीता बज्राचार्य, गायक हिराकाजी श्रेष्ठलगायतका सम्मानित अतिथिहरूको उपस्थिति रहेको थियो।
विशेष अतिथि ग्रीन डेभलपमेन्ट बैंकका शाखा प्रबन्धक पदमलाल अधिकारीले ग्रीन डेभलपमेन्ट बैंक नै पोखरामै केन्द्रिय कार्यालय रहने एक मात्र बैंक भएको बताउँदै, बैंकका सुविधाहरूले ग्राहकलाई सहजता प्रदान गरिरहेको जानकारी दिनुभयो। उहाँले कार्यक्रम सफलताको शुभकामना व्यक्त पनि गर्नुभयो। प्रमुख अतिथि बुढाथोकीज्यूले बालबालिकाको प्रतिभा प्रशंसनीय रहेको, उनीहरू भविष्यमा नारायण गोपालजस्तै महान कलाकार बन्ने सम्भावना भएको र यस किसिमका कार्यक्रमहरूले प्रतिभा प्रस्फुटनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्नुभयो।

कार्यक्रमको अध्यक्षता वरिष्ठ गायक तथा सङ्गीतकार रामभक्त जोजिजुले गर्नुभएको थियो। उहाँले नारायण गोपालको पहिचान, संगीतमा उहाँको योगदान, सदाबहार गीतका विशेषता तथा नयाँ पुस्ताले सिक्नुपर्ने पक्षबारे उल्लेख गर्दै कार्यक्रमको समापन गर्नुभयो। उहाँले नयाँ पुस्ताले नारायण गोपालका गीत सिक्दै, बुझ्दै जानु जरुरी रहेको र त्यसका लागि इतु जोजिजु क्रियशनले निरन्तर योगदान गरिरहने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको साउण्ड पार्टनर साउण्ड गार्डेन रहेको थियो भने क्यामेरा, फोटोग्राफी तथा प्रोजेक्टरको काम नारायण पराजुलीले गरेका थिए। कार्यक्रमको सञ्चालन पृथ्वी नरायण क्याम्पसका प्राध्यापक लक्ष्मण श्रेष्ठले गरेका थिए। खचाखच भरिएको हलमा विद्यार्थीहरूले स्वर सम्राट नारायण गोपालका लोकप्रिय गीतहरू उत्कृष्ट रूपमा प्रस्तुत गरेका थिए।
कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको घोषणासँगै आगामी दिनहरूमा इतु जोजिजु क्रियशनले अझै प्रगति गर्दै जाने शुभकामना व्यक्त गरिएको थियो।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, पुस २९ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्दा श्रेष्ठले…






