लम्जुङका विद्यालयमा पश्चिमाञ्चल माविको कानुनी सचेतना कार्यक्रम


     एभरेस्ट आवाज    
     मंसिर २४ गते २०८२ मा प्रकाशित




युवापुस्तामा कानुनी सचेतना फैलाउन उद्देश्यले यहाँस्थित पश्चिमाञ्चल माविले लम्जुङका विभिन्न विद्यालयमा अभिमुखीकरण कार्यक्रम चलाएको छ ।

लम्जुङका विभिन्न विद्यालयमा पुगेर पश्चिमाञ्चलका कक्षा ११ र १२ का कानुन विषय अध्यनरत विद्यार्थीले कार्यक्रम गरेका हुन । पश्चिमाञ्चलका प्राचार्य सरोज कोइरालाका अनुसार लम्जुङको कुशुमाकर मावि र इशानेश्वर माविमा कानुनी सचेतनासम्बन्धि कार्यक्रम गरिएको हो । विद्यालय तहका विद्यार्थीमा कानुनी सचेतना, मौलिक हक र अधिकारका बारेमा जानकारी दिलाउनका लागि अभिमुखिकरण कार्यक्रम संचालन गरेको प्राचार्य कोइरालाले बताए ।

‘बालबालिकालाई आफ्ना हक अधिकारबारे थाहा छैन । सबैतिर पाठ्यक्रमम समावेश पनि गरिएको छैन । हक अधिकारको बारेमा थाहा नपाउँदा कतिपय अवस्थामा अवसरबाट बालबालिका समेत बञ्चित छन,’ उनले भने, ‘आफ्ना हक अधिकारबाट बञ्चित नहुनका लागि उनीहरुमा कानुनी सचेतना आवश्यक पर्छ । त्यसैले विद्यालयले अभिमुखीकरण कार्यक्रम संचालन गरेको हो ।’पश्चिमाञ्चल फाउन्डेसनका अध्यक्ष प्राडा. रामनाथ ओझाले विद्यार्थीमा मौलिक हक र अधिकारबारे जानकारी भएमा समाज सचेत हुने भएकोले पनि ग्रामीण क्षेत्रका विद्यालयमा अभियान संचालन गरिएको बताए । ‘विद्यालयमा सिकेको कुरा विद्यार्थीले अभिभावकलाई पनि सचेत गराउँछन । हक अधिकार पाउनबाट बञ्चित हुनुपर्ने अवस्थाको यस्तै सचेतनामुलक कार्यक्रमले अन्त्य गर्छ,’ ओझाले भने, ‘विद्यार्थी सचेत भएमा समाज सचेत हुन्छ । समाज सचेत भएमा कोहीपनि नागरिक अधिकार पाउनबाट बञ्चित हुनुपर्दैन ।’

पश्चिमाञ्चल माविले कानुनी सचेतना जगाउने उद्देश्यले विगत चारवर्षदेखि गण्डकी प्रदेशका विभिन्न जिल्लामा नियमित रुपमा यस्तै सचेतनामुलक कार्यक्रम संचालन गर्दै आएको छ । आगामि दिनमा अरु जिल्लामा पनि यस्तै अभियान लिएर जाने अध्यक्ष ओझाले बताए । पश्चिमाञ्चलमा कानुन विषयम अध्ययन गर्ने विद्यार्थीले स्थानीय विद्यालयका विद्यार्थीलाई मौलिक हक, अधिकारबारे जानकारी दिएका थिए ।कुशुमाकर माविमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विद्यालयका प्रअ ध्रुवराज घिमिरेले सहरी क्षेत्रमा कानुनी सचेतनाका कार्यक्रम भइरहँदा ग्रामीण क्षेत्रका बालबालिका भने बञ्चित हुने गरेकोमा यस्ता कार्यक्रमले ग्रामीण क्षेत्रमा चेतना बढाउने बताए । इशानेश्वर माविमा आयोजित कार्यक्रममा प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामभक्त पौडेलले बालबालिका मार्फत समाजमा सचेतना फैलाउन सहज हुने बताए ।

इलाका प्रहरी कार्यालय भोर्लेटारका प्रमुख प्रहरी निरिक्षक ध्रुव गौतमले कानुनी सचेतना नपाउँदा हक अधिकार खोसिने भएकोले विद्यालयमार्फत कार्यक्रम संचालन गर्दा बढी प्रभावकारी हुने बताए ।कुशुमाकरमा व्यवस्थापन समिति अध्यक्ष देवेन्द्रसिंह घिमिरे, वडाध्यक्ष हिराबहादुर गुरुङ तथा इशानेश्वरमा प्रअ रमेशचन्द्र घिमिरे सहितले कानुनी सचेतनाबारे विचार व्यक्त गरेका थिए ।

पश्चिमाञ्चल माविमा कक्षा ११ र १२ मा कानुन विषयमा अध्यापन हुँदै आएको छ । दुईवटा विद्यालयमा आयोजित कार्यक्रममा ६ देखि १० कक्षासम्म्का विद्यार्थीहरु सहभागि थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।