महामन्त्री थापा भन्छन् :‘पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेका छौँ’


     एभरेस्ट आवाज    
     पौष १६ गते २०८२ मा प्रकाशित




नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले यही पुस मसान्तभित्र विशेष अधिवेशन आह्वान गर्नेगरी अगाडि बढिरहेको बताएका छन् ।

आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सम्पूर्ण साथीहरूलाई दृढतापूर्वक यो मार्गमा हातेमालो गर्दै एकताबद्ध हुन आह्वान गरे । “कांग्रेसले उत्तरदायित्व बोधका साथमा राष्ट्रिय भूमिका निर्वाह गर्न आत्मविश्वासको विन्दु खोजिरहेको छ”, महामन्त्री थापाले भने, “यो आत्मविश्वास हाम्रो एकता र समन्वयबाट आउँछ । एकता निषेधबाट वा फरक विचारलाई बेवास्ता गरेर नभई भिन्न मतहरू व्यक्त गर्ने साझा मञ्चको प्रयोगबाट उद्भव हुन्छ ।”

उनले आजको समयमा कांग्रेसको विशेष अधिवेशनबाट उक्त मञ्च तयार हुने धारणा राखे । पुस मसान्तभित्र विशेष अधिवेशन गर्ने कार्य विधानतः बाध्यकारी मात्र नभएर पार्टीभित्रको एकता र आत्मविश्वासको लागि अनिवार्य बनेको उनले उल्लेख गरे । राष्ट्रप्रतिको दायित्व निर्वाह गर्नसक्ने कांग्रेस बनाउनु आजको लागि प्रत्येक कार्यकर्ताको युगिन जिम्मेवारी भएको महामन्त्री थापाको भनाइ छ । आजभन्दा ४९ वर्ष अगाडि विषम् परिस्थितिमा ‘राष्ट्रिय एकता र मेलमिलाप’ को आह्वान गरेर विपी कोइराला, गणेशमान सिंहलगायत नेताहरू नेपाल फर्किएको उनले स्मरण गरे ।

महामन्त्री थापाले आमजनताको परिवर्तनको आकाङ्क्षा स्वच्छ र स्वस्थ चुनावी प्रतिस्पर्धाका माध्यमबाट मुखरित हुन सकोस् भन्दै एकले अर्कोलाई विरोध र निषेध होइन, राष्ट्र निर्माणको सामूहिक उत्तरदायित्व बोधका साथ अगाडि बढ्ने प्रेरणा सबैलाई मिलोस् भनी शुभकामना व्यक्त गरेका छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।