हतारमा गल्ती भएको महशुष भएको छ, त्यसमा रिभ्यू हुन्छ : रवि


     एभरेस्ट आवाज    
     पौष १६ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, पुस १६

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले विधि मिचिएको अवस्था भए रास्वपामा राईट टु रिकल हुने बताएका छन् । सूर्य दर्शन सहकारी ठगी मुद्दामा तारिख बुझ्न पोखरा आएका उनले बुधबार पोखराका पत्रकारहरुसँग कुरा गर्दै सोमबार बुझाइएको समानुपातिक उम्मेदवारको नामावलीमा विधि मिचिएको पाईए राईट टु रिकल गरिने बताएका हुन् ।

रास्वपाले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा नेताका आफ्ना आफन्त रहेको पाइएको छ । जसका कारण अहिले सामाजिक सञ्जालमा नयाले नै विधि मिचेको भन्दै आलोचना भइरहेको छ । सो प्रसङ्गमा बोल्दै सभापती लामिछानेले विधि भन्दा बाहिर पार्टी नजाने स्पष्ट पारे । रास्वपामा विधि छ, विधिमा रास्वपा हिंड्छ, विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं,उनले भने,‘कथमकदाचित यी सबै विधिहरू नाघिएको रहेछ भने राइट टू रिकलको व्यवस्था रास्वपाको विधानले नै गरेको छ ।’ उनले रास्वपा परिवारवादमा स्पष्ट रहेको बताए ।

सभापती लामिछानेले छोटो समयमा समानुपातिक उम्मेदवारको बन्दसूची तयार पार्नु परेकाले त्रुटीहरु भएका हुनसक्ने बताए । तर त्यसलाई सच्याईने उनको भनाई थियो । बन्दसूची बुझाउने बेलामा कुलमानसँग सहमती गर्दै थियौं,उनले अगाडि थपे, यस्तै केहि कारणले केही समस्या भएको हुनसक्छ । र यसो भएको भए त्यसलाई रिभ्यू गरिन्छ ।’

‘हामी सचेत छौं । तर समयले गर्दा अरु दुई दिन पनि अरु केही विवाद छन् कि भनेर हामी वेट गरेका छौं । यो दुई दिनमा जति पनि जायज गुनासो छन्, सबै सम्बोधन गर्दौं । किनभने हामीले बोक्नुपर्ने एक जना मान्छे पनि छैन पार्टीमा,’ लामिछानेले भने ।

सभापती लामिछानेले रास्वपाले भागवण्डामा विस्वास नगर्ने बताए । बालेन र रवीबीच पार्टी सभापती र भावी प्रधानमन्त्री भनेर भागवण्डा गरेको भन्दै विपक्षीहरुले कटाक्ष गरिरहेको बेला उनले यसलाई भागवण्डा नभनिने बताए । यो जिम्मेवारी बाँटफाँट मात्र हो,उनले भने,‘पार्टी कसले चलाउने ? पार्टीले बहुमत ल्याएको खण्डमा प्रधानमन्त्री को बन्ने ? भन्ने विषयमा जिम्मेवारी बाँडफाँट गरेका हौं ।’

फरक प्रसङ्गमा उनले रास्वपाले आफूलाईबाहेक अरुका लागि निर्वाचनमा भोट नमाग्ने स्पष्ट पारे । पछिल्लो समय चुनावी गठबन्धन गरेर एकले अर्कोलाई भोट माग्ने गरेकोतर्फ ईंगित गर्दै उनले भने,‘रास्वाले आफ्नो पार्टीलाई, आफ्नो उम्मेदवारलाई र आफ्नो चुनाव चिह्नमा भन्दा अरुलाई भोट माग्दैन । रास्वपा हो, घण्टी हो, त्योभन्दा अर्को पार्टी र चुनाव चिह्न छैन र हुँदैन । कसैका लागि भोट पनि मागिन्न ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।