वातावरणीय सरसफाईमा बाटुलेचौरका आमाहरु सक्रिय


     एभरेस्ट आवाज    
     पौष १९ गते २०८२ मा प्रकाशित




शिशिर उजाड
पोखरा

बिहान बेलुका घरको लुते धन्दामै व्यस्त हुने आमाहरु पछिल्लो समय वातावरणीय सरसफाई र संरक्षणका क्षेत्रका पनि सक्रिय हुन थालेका छन् ।

पोखरा १६ बाटुलेचौरमा संरक्षण आमा समुहमा आवद्ध महिलाले प्रत्येक शनिबार विहानको समय वातावरण संरक्षणमा छुट्टयाएका छन् । उनीहरु शनिबारको बिहानै हातमा कुचो, ग्लोव र प्लाष्टिक बोकेर सार्वजनिक स्थलको सरसफाईमा लाग्ने गरेका हुन् । महिलाले शुरुवात गरेको सुधारको कामलाई स्थानीय अमलाबिसौंनी धोविनी पाटन टोल विकास संस्थाले पनि सहकार्य गरेको छ । उनीहरुले आज अमलाबिसौनी देखि मैदानचोकसम्म सरसफाई गरेका छन् । अमलाबिसौनीबाट शुरु भएको अभियान चमेरे गुफा, महेन्द्र गुफा, संगमचोक, राजपँधेरा हुदै मैदानचोकमा पुगेर सम्पन्न भएको समुहले जनाएको छ ।

सहभागिले सडकको दाँयाबायाँ भएको फोहर संकलन गर्नुका साथै जथाभावी फोह नफाल्न स्थानीयलाई सचेतना समेत जगाएको अध्यक्ष पार्वती बस्नेतले जानकारी दिईन् । संकलित फोहरलाई बर्गिकरण गरी व्यवस्थापन समेत गरिएको छ ।मर्निङ्ग वाकमा निस्कनेहरुले आफुसँगै कुकुरलाई पनि लैजाने र जथाभावी दिशापिशाव गराउनाले पनि समस्या निम्तिएको उनीहरुको भनाई छ । अभियानमा टोल विकास संस्थाका अध्यक्ष खगेन्द्र थापाले फोहर र मानवीय गतिविधीका कारण पछिल्लो समय वातावरण थप प्रदुषित बन्दै गएको बताउँदै, यसको संरक्षण गर्ने दायित्व पनि समुदायको नै भएको बताए ।

समुहका अध्यक्ष बस्नेतले घरमात्र सफा राखेर नहुने बताउँदै स्वस्थ हावापानीका लागि वातावरणीय सरसफाई आवश्यक रहेको बताईन् । कार्यक्रममा टोल विकास संस्थाका पुर्व अध्यक्ष होमबहादुर खड्का, समुहका पुर्व अध्यक्ष लक्ष्मी श्रेष्ठलगायतले अभियानलाई निरन्तरता दिन सुझाव दिए ।समुहले घरपालुवा जनावर कुकुरलाई जथाभावी दिशा पिशाव नगराउन सन्देश सहितको पम्प्लेट पनि बिभिन्न ठाउँमा टासेका छन् ।

महत्वपुर्ण पर्यटकीय स्थल महेन्द्र गुफा, चमेरे गुफा रहेको सो स्थानमा आमाहरुको कार्यले सकारात्मक भुमिका खेलेको स्थानीयले बताएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।