एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय संचालन


     एभरेस्ट आवाज    
     पौष २१ गते २०८२ मा प्रकाशित




एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड २०८१ को सचिवालय संचालनमा आएको छ । सोमबार ‘म्याजेस्टीक लेक फ्रन्ट’मा २२औं संस्करणको अवार्डको लागि सचिवालय स्थापनासहित उद्घाटनमा गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले सचिवालयको औपचारिक उद्घाटन गरेका थिए । कार्यक्रममा आयोजक नेपाल खेलकुद पत्रकार मञ्च एनएसजेएफ अध्यक्ष निरञ्जन अधिकारी तथा एनएसजेएफ गण्डकी अध्यक्ष एमबी आस्थाको सहभागिता रहेको थियो । प्रमुख प्रशासकीय अधिकृत अर्यालले पहिलो पटक काठमाडौं बाहिर हुन लागेको अवार्ड भव्यरुपमा सफल पार्न शुभकामना दिएका छन् । ‘पहिलो पटक एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड काठमाडौं बाहिर हुँदैछ । यो अवार्ड भव्यरुपमा सम्पन्न गर्न शुभकामना छ,’ अर्यालले भने ।

काठमाडौं बाहिर पहिलोपटक आयोजना हुन लागेको अवार्डमा पोखरा महानगरपालिका प्रवर्धकका रुपमा छ । एनएसजेएफले स्पोर्टस अवार्डसँगै स्पोर्टस समिटको पनि आयोजना गर्दैछ । उक्त समिट अवार्डको अघिल्लो दिन पुस २२ गते हुनेछ । अवार्डको मुख्य प्रायोजकमा गोल्छा ग्रुपको निरन्तरता कायमै छ भने पावर्ड बाईमा यती एयरलाइन्सको साथ थपिएको छ । स्पोट्स अवार्डको भोटिङ पार्टनरमा खल्ती र पोसाक पार्टनरमा केल्मी नेपाल रहेका छन् ।

एनएसजेएफ पल्सर स्पोट्स अवार्ड २०८१ मा विगतमा जस्तै १० विधामा अवार्ड प्रदान गरिनेछ । त्यसमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, युवा वर्ष खेलाडी, वर्ष प्रशिक्षक, पिपल्स च्वाइस अवार्ड, पारा एथलिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, टिम अफ द इयर र एसियन स्पोट्र्स जर्नालिस्ट अवार्ड रहेका छन् । खेलाडीलाई जनमतबाट विजेता बनाउने विधाको रूपमा रहेको पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भइसकेको छ ।

मनोनयनमा परेका खेलाडी विजय सिन्जाली उसु, इभाना थापा टेबलटेनिस, हिमाल सुनारी भलिबल, पूजा महतो क्रिकेट र रेखा पौडेल फुटबलका लागि सामाजिक सञ्जालमा व्यापक चर्चासँगै डिजिटल वालेट खल्ती आईएमई एपमार्फत भोटिङ भइरहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।