पोखरा, २१ पुस ।
रोटरी क्लब अफ पोखरा लेकसाइडले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम गरेको छ । पोखराको लेकसाइडस्थित हल्लनचोकमा सोमबार आयोजित कार्यक्रमको रोटरीका डिष्ट्रिक्ट गभर्नर विनोद कोइरालाले उद्घाटन गरेका थिए । पहिलो रक्तदाता क्लबका पूर्व अध्यक्ष उपेन्द्र अधिकारी र उनी पत्नी कृतिका सुवेदी अधिकारीलाई ब्लड ब्याग हस्तान्तरण गरी उद्घाटन गरिएको हो । सो अवसरमा गभर्नर कोइरालाले रक्तदान कार्यक्रम पुण्यको काम भएको उल्लेख गर्दै क्लबले चार्टर डे अवसरमा रक्तदान कार्यक्रम सुरुआत गरेकोमा खुसी व्यक्त गरे ।
यसैगरी सामाजिक सेवामा रोटरी इन्टरनेशनल सदा सक्रिय रहँदैआएको उनको भनाइ थियो । रोटरीका डिष्ट्रिक्ट सेक्रेटरी सुभाष सिग्देलले मानिसले मरेपछि खाली हात नै जाने भएकाले जीवित छँदै पुण्यको काम गर्नुपर्ने सुझाव दिए । उनका अनुसार मानिसले अरुलाई विस्डम, नलेज र स्कील (बुद्धि, ज्ञान र सीप) बाँड्नुपर्छ । क्लब अध्यक्ष राजेन्द्र लिगलले रोटरीको नाम ‘लेकसाइड’ रहेको हुँदा पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडदेखि नै रक्तदान आयोजना गरिएको र आगामी वर्षमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
क्लबका पब्लिक इमेज चेयर एवं कार्यक्रम संयोजक कृष्ण थापाको संयोजकत्वमा भएको उक्त कार्यक्रममा पोखरा घुम्न आएका आन्तरिक एवं बाह्य पर्यटकले समेत रक्तदान गरेका थिए । जसमा ३० युनिट रगत संकलन भएको क्लबका एड्मिन चेयर कुलप्रसाद सुवेदीले जानकारी दिए । सोही अवसरमा कार्यक्रम संयोजक कृष्ण थापाले गरेको रक्तदान ८४ औं पल्टको थियो । १८ देखि ६५ वर्षका स्वस्थ मानिसले हरेक ३ महिनामा रक्तदान गर्न सकिने उनको भनाइ छ । साथै मानिसको तौल ४५ किलोभन्दा बढी हुनुपर्छ ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्ष अर्जुन खनाल, पत्रकार आरजु विष्ट सल्यानीले रक्तदानको महत्वमाथि प्रकाश पारेका थिए । कार्यक्रममा स्वागत कार्यक्रम संयोजक थापा र सञ्चालन एड्मिन चेयर कुलप्रसाद सुवेदीले गरे ।
कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु डा. वीरबहादुर कार्की, शोभाकान्त सिग्देल, सामुदायिक केन्द्र बैदामका अध्यक्ष ठाकुर बरालसमेतको उपस्थिति थियो । सो अवसरमा रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोग रहेको केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले बताए । ११ औं चार्टर डे मनाएको क्लबमा हाल ३१ जना रोटरियन रहेको क्लब अध्यक्ष लिगलले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






