माघीको अवसरमा प्रथम सहिद लखन थापा मगर लाङ्घालि समाजले गर्यो शुभकामना आदानप्रदान


     एभरेस्ट आवाज    
     पौष २९ गते २०८२ मा प्रकाशित




पोखरा, पुस २९

तनहुँको शक्ला गण्डकी नगरपालिका वडा न ७ शान्तिनगरमा रहेको प्रथम सहिद लखन थापा मगर लाङ्घालि समाजले माघेसंक्रान्ति पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । मगर जातिहरुको महान पर्वको रुपमा लिने माघेसंक्रान्ति अर्थात माघी चाडको अवसरमा तरुल, सखरखण्डलगायतका परिकार खानुका साथै विविध सांस्कृतिक कार्यक्रम गरिएको हो ।

कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले मगर समुदायको महान चाँड माघीको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको भन्दै सरकारलाई धन्यवाद दिए । त्यसैले यो सर्व हर्षोल्लासपूर्वक मनाउन उनले सबैमा आग्रहसमेत गरे । उनले वडा न ७ मा भौतिक बिकासले फड्को मारेको र सबै बाटो पिच भइसकेको उल्लेख गरे । उनले अब नगरपालिकाको चासो गुणस्तरीय शिक्षामा रहेको बताए । योजना बनाउँदा पहुँचको आधारमा नभई आवश्यकताको आधारमा छनौट गरिदै आएको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिने उनले प्रतिबद्दता जनाए । उनले नगरपालिका क्षेत्रमा गरिब असाहय भएको खण्डमा आफूले आफ्नो तलब भत्ता काटेर पनि सहयोग गर्ने वचन दिए ।

मगर संघ तनहुँका अध्यक्ष तथा शुक्ला गण्डकी नगरपालिका वडा न ७का वडाध्यक्ष खड्कसिहं थापाले संस्कार, संस्कृति कसैले पनि भुल्न नहुने बरु यसको संरक्षण र प्रवद्र्दनमा लाग्नुपर्ने बताए । सोहि उद्देश्य अनुरुप शुभकामना आदानप्रदान गरेकोमा समाजलाई धन्यवादसमेत दिए ।

प्रथम सहिद लखन थापा मगर लाङ्घालि समाजका अध्यक्ष एपोलो थापाको अध्यक्षतामा भएको कार्यक्रमको संचालन वडा न ७ का वडा सदस्य गिरबहादुर थापा तथा स्वागत मन्तब्य भुल बहादुर रानाले गरेका थिए ।

कार्यक्रममा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।