भू–राजनीतिक सन्तुलनको आवश्यकताले गोरखाबाट मेरो उम्मेदवारीः डा भट्टराई


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताए ।

गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव नलड्ने घोषणा गरेको भए पनि पछिलो राजनीति परिस्थिति र गोरखाका जनताको अनुरोधलाई स्वीकार गरेर आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवारी दिन लागेको बताएका हुन् । “प्रतिनिधिसभा राज्यको जनप्रतिनिधिको सर्वोच्च थलो भएकाले त्यहाँ रहेर नै राष्ट्रिय स्वाधीनता, सर्वभौमसत्ता र सुरक्षा नीतिसम्बन्धी महत्वपूर्ण निर्णय गर्नुपर्छ,” उनले भने, “भू–राजनैतिक सन्तुलन मिलाएर देशलाई स्वाधीनताको मजबुत दिशातर्फ लैजान प्रतिनिधिसभामा सक्रिय भूमिका खेल्नुपर्छ भन्ने लागेर उम्मेदवारी दिन लागेको हुँ ।”

संसद् बाहिरबाट भन्दा संसद्भित्र बसेर राष्ट्रहितका एजेन्डा प्रभावकारी रूपमा अघि बढाउन सकिने डा भट्टराईको भनाइ थियो । लामो छलफलपछि उनले प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा–२ मा उम्मेदवारी दिने निर्णय गरेका हुन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।