सन्देश श्रेष्ठ
पोखरा, माघ ५
कास्की क्षेत्र नम्बर २ मा नेकपा एमालेले उम्मेदवार परिवर्तन गरेको छ । कृष्ण थापालाई उम्मेदवार बनाएको एमालेले अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गर्दै रस्मी आचार्यलाई उम्मेदवार बनाएको हो । यसअघि थापालाई उम्मेदवार बनाएपछि एमाले कास्कीमा असन्तुष्टि छाएको थियो । थापाले बारम्बार अवसर पाएको भन्दै एमालेकै नेताहरुले सामाजिक सञ्जालमार्फत सार्वजनिक रुपमा विरोध गरेका थिए । उम्मेदवार बनेका स्वयम् थापाले पनि आफ्नो उम्मेदवार बन्ने ईच्छा नरहेको बताएका थिए ।
तर आज एकाएक एमालेले रस्मीलाई उम्मेदवार बनाएपछि कास्की २ को राजनीति तरंगित बनेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)बाट राजनीति शुरु गरेका आचार्य अवसर नपाएको नेता मध्येका एक हुन् । उनलाई यस पटक टिकट दिनेमा एमाले पंक्ति विश्वस्त थियो । तर टिकट अर्कैले हत्याएपछि आलोचना खेपेको एमालेले अन्तिम समयमा आएर उम्मेदवार परिवर्तन गर्न बाध्य भएको छ ।
कास्की २ दिवंगत नेता रविन्द्र अधिकारीको क्षेत्र हो । जहाँबाट अधिकारीले लगातार ३ पटक चुनाव जितेका थिए । २०६४ सालमा माओवादीको जगजगी भएका बेला पनि जितेका उनले २०७० र २०७४ मा पनि जितेका थिए । तर हेलिकोप्टर दुर्घटनामा निधन भएपछि उपचुनावमा उनकै धर्मपत्नी विद्या भट्टराईले जितेकी थिईन् । २०७९ को आम निर्वाचनमा पनि जितेकी उनी अहिले चुनावी प्रतिष्पर्धामा छैनन् । यहि क्षेत्रमा उम्मेदवार बनेका रस्मीले नेकपाका किरण थापा, रास्वपाका उत्तम पौडेललगायतसँग प्रतिष्पर्धा गर्नुपर्नेछ । यस क्षेत्रमा कांग्रेसले भने उम्मेदवार टुंगो लगाएको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कार २०८२ बाट पत्रकार राम थापालाई सम्मान गरिने भएको…







