पोखराबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं पठाईयो


     एभरेस्ट आवाज    
     माघ ५ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ ५

नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पोखराबाट पक्राउ परेका छन् । मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंलाई कास्की प्रहरीले सोमबार अपराह्न पक्राउ गरेको हो ।

महाअभियान अन्तर्गत आयोजित नागरिक सभालाई सम्बोधन गर्न उनी पोखरा आएका थिए । लेकसाईडमा आयोजित नागरिक सभालाई सोमबार अपराह्न सम्बोधन गरेका उनी काठमाडौं फर्किनका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल जाँदै गरेका बेला पक्राउ परेका थिए । कास्की प्रहरीले प्रसाईंलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

प्रसाईंले कांग्रेसको आधिकारिकता लिन निर्वाचन आयोगलाई गगन थापा पक्षले ५२ करोड घुस खुवाएको आरोप लगाएका थिए । सो आरोपपछि निर्वाचन आयोगले उनलाई कारवाही गर्न साईबर ब्यूरोमा पत्राचार गरेको थियो । सोहि पत्रका आधारमा साईबर ब्यूरोले प्रसाईंलाई अनुसन्धानका लागि पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक डिएसपी हरिबहादुर बस्नेतले जानकारी दिए । पक्राउ गरिएका प्रसाईंलाई आजै काठमाडौं पठाईएको उनले बताए । उनले भने,‘प्रसाईंलाई अनुसन्धानका लागि पोखरा अन्र्तराष्ट्रिय विमानस्थल नजिकको एयरपोर्ट चोकबाट पक्राउ गरिएको छ । पक्राउ लगत्तै हामीले काठमाडौं पठाईसकेका छौं ।’

पक्राउ गर्दा प्रसाईंलाई सार्वजनिक शान्तिबिरुद्द कसुरमा पक्राउ पुर्जी थमाईएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।