आज पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८२ हुँदैं, कुन्ती मोक्तानको विशेष प्रस्तुती रहने


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८२ मा प्रकाशित




पोखरामा आज (शुक्रबार) अरुणा लामा–तारादेवी स्मृति साँझ–२०८२ आयोजना हुँदैछ ।

पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा आज अरुणा लामा–तारादेवी स्मृति साँझको चौथो संस्करण हुन लागेको हो । स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर आज अपरान्ह गरिने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए । स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ १० गते स्मृति दिवस हो । यी दुवै सर्वप्रिय गायीको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको छ ।

नेपाली सांगीतिक क्षेत्रका हस्तीहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुप्रति समर्पित ‘ट्रिब्यूट’ दिने उद्देश्यले आयोजित स्मृति साँझमा पोखरेली कलाकारहरुले अरुणा लामा र तारादेवीका गीतहरु गुञ्जाउनेछन् । श्रेष्ठका अनुसार पोखरेली कलाकार ईतु जोजिजू, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले प्रस्तुती दिनेछन् । जसमा यी गायीकाहरुले प्रत्येकले एक÷एक वटा स्व.स्वर किन्नरी द्वयको चर्चित सदाबहार गीतहरु प्रस्तुत गरेर श्रद्दाञ्जली अर्पण गर्नेछन् भने थप एक÷एक वटा आ–आफ्नो चर्चित गीत प्रस्तुत गर्नेछन् । कार्यक्रममा यस वर्ष बरिष्ठ गायीका कुन्ती मोक्तानले विशेष प्रस्तुती दिनेछिन् । जहाँ उनले समकालीन गायीका द्वयप्रति समर्पित गर्दै आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्ने संयोजक श्रेष्ठले जानकारी दिए । कार्यक्रममा सदाझैं यस वर्ष पनि अन्वेषक, लेखक तथा निर्देशक प्रकाश सायमीले विद्यत सांगीतिक स्मृति प्रवचन दिनेछन् । जहाँ उनले स्वर साम्राज्ञी अरुणा लामा र कालजयी गीतका धनी तारादेवीका अनटोल्ड स्टोरीहरु सुनाउनेछन् ।

पोखरा महानगरपालिकाको प्रवद्र्दनमा हुने कार्यक्रममा फिस्टेल आईभिएफ एण्ड फर्टिलिटी सेन्टर, सिटिजन फर्निचर, फिस्टेल स्किन, हेयर एण्ड लेजर सेन्टर, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, डिजिटल साउण्ड एण्ड भिजन, रुपाकोट ज्योति सुनचाँदी पसल, नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज, सफल दूध, कञ्चन क्यापिटल प्रालि, बेटरहोम एप्लाईन्सेस, कुमुदिनी होम्स मावि, वर पिपल रिसोर्ट एण्ड स्पा, नेको ईन्सुरेन्स कम्पनी लिमिटेड, ड्याडीज किचन द क्याफे एण्ड रेष्टुरेण्ट, आमा नेचुरल आईभिएफ आशाको शुरुवात भरतपुर र मिनबहादुर शेरचन स्टोर्स रहेका छन् । त्यस्तै, हस्पिटालिटी पार्टनरमा वर पिपल रिसोर्ट एण्ड स्पा, द ग्राउण्ड्स रेष्टुरेण्ट एण्ड क्याफे, साउण्ड एण्ड लाईट पार्टनरमा एस.के.साउण्ड एण्ड लाईट, टेलिभिजन पार्टनरमा पब्लिक फोरके टेलिभिजन, अनलाईन पार्टनरमा एभरेस्ट आवाज डटकम र विज्ञापन पार्टनरमा परिचय एडभर्टाईजिङ रहेका छन् ।

कार्यक्रमको पब्लिक फोरके टेलिभिजनसँगै एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमबाट एकसाथ प्रत्यक्ष प्रशारण हुने संयोजक श्रेष्ठले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।