सन्देश श्रेष्ठ
पोखरा, माघ २१
साफ महिला यू–१९ च्याम्पीयनसीपको उपाधिका लागि बंगलादेश र भारत भिड्ने भएका छन् । पोखरा रंगशालामा भइरहेको प्रतियोगितामा बंगलादेश लिगको बिजेता र भारत उपबिजेता बनेर फाइनलमा प्रवेश गरेका हुन् । चार देश सहभागी प्रतियोगितामा बंगलादेशले शतप्रतिशत नतिजा निकाल्दै ९ अंकसहित लिग बिजेता बन्यो । पहिलो खेलमा भुटानलाई १२–०, दोस्रो खेलमा भारतलाई २–१ र तेस्रो खेलमा आज नेपाललाई ४–० ले पराजित गर्दै बंगलादेशले फाइनल यात्रा सुनिश्चित गर्यो ।
घरेलु टोली नेपाललाई १–० ले पराजित गरेको भारतले भने आज भुटानलाई ८–० ले पराजित गर्दै लिग उपबिजेतासहित फाइनल यात्रा सुनिश्चित गर्यो ।
प्रतियोगितामा नेपाल तेस्रो भएको छ । पहिलो खेल भारतसँग १–० को पराजय बेहोरेको नेपालले दोस्रो खेलमा भुटानलाई २–१ ले पराजित गरेको थियो । तर बुधबार भएको लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग ४–० को हार बेहोरेपछि नेपालको फाइनल पुग्ने सपना तुहियो ।
बुधबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल बंगलादेशसामु ४–० ले स्तब्ध भयो । अल्पीको ह्याट्रिक गोल मद्दतमा नेपालमाथि बंगलादेशले एकतर्फी चार गोल हानेको हो । नेपालले पहिलो र दोस्रो हाफमा समान २÷२ गोल बेहोर्यो । बंगलादेशकी अल्पीले पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा गोल गर्दै खाता व्यक्तिगत खाता खोलेकी थिईन् । त्यसपछि दोस्रो हाफको
खेल शुरु भएको तेस्रो मिनेटमै नेपालले पहिलो गोल बेहोरेको थियो । आक्रामक बंगलादेशसामु नेपालले सम्हालिन नपाउँदै गोल खाएको हो । बंगलादेशकी मामोनी चक्माले प्रहार गरेको कर्नर क्रसमा प्रतीमा मुन्डाले हेडर गर्दै जाली चुमाईन् । दोस्रो गोल भने नेपालले पहिलो हाफको अतिरिक्त समयको अन्तिम मिनेटमा खायो । पेनाल्टी बक्स नजिक पाएको फ्रिकिकलाई अल्पीले सेकेण्डबार च्यापेर हानेको प्रहार रोक्न नेपालकी गोलकिपर झरना डुम्राकोटी असफलहुँदा सिधै गोलमा परिणत भयो । अल्पीले खेलको ६७ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता तेब्बर पारिन् भने उनैले खेलको ८२ औं मिनेटमा थप गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
यसअघि बुधबारकै पहिलो खेलमा भारतले भुटानलाई ८–० को फराकिलो गोल अन्तरले पराजित गर्यो । पहिलो हाफमा ७–० ले अग्रता बनाएको भारतले दोस्रो हाफमा भने १ गोल मात्रै थप्यो । फराकिलो अन्तर बनाउने क्रममा भारतकी पर्ल फर्नान्डेजले ह्याट्रिक गोलको योगदान दिईन् । फर्नान्डेजले १६ औं, ३९ औं र ४१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । बुधबारको खेलमा भारतका लागि प्रितिका वर्मनले २५ औं र ९० औं मिनेटमा गरेर दुई गोलको योगदान दिईन् भने अलिसा लिङ्ग्दोहले छैटौं मिनेट, अभिष्टा बस्नेतले १० औं र दिव्यानी लिन्डाले १७ औं मिनेटमा गोल गर्दै फराकिलो अन्तरमा हराउन भूमिका खेले ।
प्रतियोगिताको उपाधिका लागि अब बंगलादेश र भारतबीच शनिबार प्रतिष्पर्धा हुनेछ । यी दुई देश साविक बिजेता हुन् । अघिल्लो वर्ष भएको खेलमा निर्धारित समय, अतिरिक्त र टाईब्रेकरमा पनि खेल बराबरीमा पुगेपछि दुबै देशलाई संयुक्त रुपमा च्याम्पीयन घोषणा गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रधानमन्त्री बालेन शाहसँग भेटे लगत्तै गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएका छन्…






