सम जयन्तीमा सन्तति लोकार्पण


     एभरेस्ट आवाज    
     माघ २४ गते २०८२ मा प्रकाशित




पोखरामा नाट्यसम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइएको छ ।

जरोटुप्पो संरक्षण साहित्य समाज नेपालद्वारा साहित्यकार डा. पुष्पा के.सी. भण्डारीको लघुकथा कृति सन्तति लोकार्पण, रचनावाचन तथा सम विमर्शसहित १२४ औं जन्मजयन्ती मनाइएको हो । कृतिको पोखरा रत्न हरिदेवी कोइराला, नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनी, गण्डकी प्रेस रजिष्ट्रार विमला भण्डारी, गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्ची, हाम्रो लघुकथा केन्द्रकी गण्डकी संयोजक शुभ शर्मा र डा नारायणप्रसाद अधिकारीले एक साथ लोकार्पण गरे ।लोकगायिका हरिदेवी कोइरालाले भण्डारीको बहुआयामिक व्यक्तित्वबारे प्रकाश पार्दै लघुकथा कृति प्रकाशन सन्दर्भमा नारी प्रतिभाको उपस्थिति पातलो रहेको अवस्थामा पुष्पाको लेखन सबैका लागि प्रेरणादायी रहेको धारणा राखिन् ।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य नारायण मरासिनीले पुष्पाको लघुकथा कृति पहिलो भए तापनि उनको लघुकथा लेखन पर्याप्त सम्भावनाले भरिएको बताउँदै उनका कथामा वर्तमान यथार्थ अभिव्यक्त भएर आएको धारणा राखे ।गण्डकीका प्रेस रजिष्ट्रार विमला भण्डारीले डा. पुष्पा के.सी. भण्डारीका विविध आयामबारे दुई दशकदेखि सञ्चार र समाजसेवाका कर्ममा लाग्दै जाँदा आफूले गरेका अनुभूतिको स्मरण गरिन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले समको व्यक्तित्वबारे प्रकाश पार्दै सबैप्रति समभाव राख्ने समको योगदानको स्मरण राज्यद्वारा हुन नसकेकामा चिन्ता व्यक्त गरे । राज्यका लागि रोजगारी र आयआर्जनका बाटा बन्न सक्ने सम्भावनायुक्त स्रष्टा साधकप्रति राज्य मौन रहनु दुखद् सन्दर्भ रहेको बताए ।इन्द्र–हुमा वाङ्मय पुरस्कार कोषका संस्थापक सविन जिसीले इन्द्र–हुमा पुरस्कारबाट पुरस्कृत स्रष्टाको कृति सोही संस्थाको आयोजनामा लोकार्पण गर्न पाउँदा गौरवबोध लागेको धारणा व्यक्त गरे ।

हाम्रो लघुकथा केन्द्रकी गण्डकी संयोजक शुभ शर्माले भण्डारीको लघुकथा लेखनको पाठशाला नै अहिलेको लघुकथा केन्द्र रहेको स्मरण गरिन् ।कार्यक्रममा सिर्जना साहित्य सदनका अध्यक्ष शिवप्रसाद पोखरेल, नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी अध्यक्ष छन्दिका त्रिपाठी, हेमजा साहित्य प्रतिष्ठानका उपाध्यक्ष छन्दमणि त्रिपाठी, ओम शिवशक्ति कल्याणी आश्रमकी व्यवस्थापक भगवती खत्रीले डा. पुष्पा केसी भण्डारीका साहित्यिक, सामाजिक, धार्मिक विविध आयामबारे चर्चा गरेका थिए ।कार्यक्रममा निवृत्त शिक्षक समाजका अध्यक्ष छविलाल आचार्य, लघुकथा प्रतिष्ठानका सचिव विष्णु बास्तोला, भानु वाङ्मय प्रतिष्ठानका सचिव अम्बिकाप्रसाद भट्टराई, सिर्जना साहित्य सदनका सल्लाहकार एकदत्त लम्साल, गीताञ्जली साहित्य परिवारका उपाध्यक्ष ढुण्डीराज ज्ञवाली अभियानलगायतले सम र स्रष्टाका रचना वाचन गरेका थिए ।

डा.नारायणप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन साहित्यकार असफल गौतमले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।