सन्देश श्रेष्ठ
पोखरा, माघ २४
बंगलादेशलाई हराउँदै भारत साफ यू–१९ फुटबल प्रतियोगिताको च्याम्पीयन बनेको छ । पोखरामा शनिबार भएको फाईनल खेलमा भारतले बंगलादेशलाई ४–० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । भारतको यो तेस्रो उपाधि हो । यसअघि पहिलो प्रतियोगितामै उपाधि जितेको भारतले सन् २०२४ मा भने बंगलादेशसँग संयुक्त रुपमा दोस्रो पटक उपाधि चुमेको थियो ।
शनिबार भने फाइनल भिडन्तमा भारतले बंगलादेशसँग लिग चरणमा बेहोरेको हारकोसमेत बदला लिदै उपाधि रक्षा गर्यो । लिग चरणमा बंगलादेशले भारतलाई २–० ले पराजित गरेको थियो ।
फाइनल भिडन्तमा भारतले पहिलो हाफमा १ तथा दोस्रो हाफमा ३ गर्दै ४-० को सहज जित दर्ता गर्यो । भारतका लागि कप्तान जुलन नोङमाइथेम, एलिजाबेथ लाक्रा, पर्ल फर्नान्डेज र अन्विता रघुरमनले १/१ गोलको योगदान दिए ।
भारतले खेलको ४२ औं मिनेटमा गोल गर्दै गोलको खाता खोलेको थियो । भारतकी अल्भादेवी सेन्जमको क्रसमा प्रितिका वर्मनले उपलब्ध गराएको पासलाई कप्तान जुलन नोङमाइथेमले गोलमा परिणत गर्दै भारतलाई अग्रता दिलाएकी थिईन् ।
पहिलो हाफ प्रतिष्पर्धात्मक भए पनि दोस्रो हाफमा भने बंगलादेशले लय गुमायो । आपसी तालमेल नमिलेको खेलमा बंगलादेशकी गोलकिपर सोलम छोदेनको लापरवाहीको फाईदा उठाउँदै भारतले दोस्रो हाफमा एकपछि अर्को गोल थप्यो । खेलको ६३ औं मिनेटमा एलिजाबेथ लाक्राले पेनाल्टीमार्फत गोल थप्दै गोल अन्तर दोब्बर बनाईन् । बंगलादेशको पेनाल्टी बक्सहुँदै दायाँ साईडबाट बल क्रस भएर बाहिरिने क्रममा रहेका बेला गोलकिपर ईयर्जन बेगमले भारतीय खेलाडीलाई तानेर लडाएपछि रेफ्री ओम चोकीले भारतलाई पेनाल्टीको अवसर दिईन् । जसमा लाक्राले पोष्टको बायाँतर्फ च्यापेर हानेको पेनाल्टी प्रहार गोलमा परिणत भएको थियो ।
खेलको ६८ औं मिनेटमा पर्ल फर्नान्डेजले गोल गर्दै अग्रता तेब्बर बनाईन् । यसपटक गोलकिपर सोलमको लापरवाहीले बंगलादेशले गोल खाएको थियो । पेनाल्टी बक्स बाहिर दुईतर्फी घम्साघम्सीहुँदा रिबाउण्ड भएको बललाई क्लियर गर्नुको सट्टा होल्ड गरेर खेलाईरहेका बेला भारतीय खेलाडी फर्नान्डेजले खोसेर जाली चुमाएकी थिईन् । ८३ औं मिनेटमा अन्विता रघुरमनले थप गोल गर्दै गोल अन्तर फराकिलो बनाईन् ।
प्रतियोगितामा उपबिजेता बनेको बंगलादेशकी अल्पी अख्तर सर्वोत्कृष्ट खेलाडी घोषित भईन् । उनी सर्वाधिक गोलकर्तासमेत बनिन् । त्यस्तै, भारतकी मुन्नी उत्कृष्ट गोलकिपर बनिन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







