सन्देश श्रेष्ठ
पोखरा, माघ २५
आहा ! रारा पोखरा गोल्डकप मंगलबारदेखि शुरु हुँदैछ । सहारा क्लव पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता मंगलबारदेखि शुरु हुन लागेको हो । “खेलकुदको विकासमा सहकार्य गरौं, पोखरालाई खेलकुद पर्यटन शहरको रूपमा स्थापित गरौं” भन्ने नारासहित सञ्चालन हुने २५ औं संस्करणको यस प्रतियोगितामा १२ टिमले सहभागिता जनाउने आयोजक सहारा क्लव पोखराले आईतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।
३ विदेशीसहित १२ सहभागी क्लवहरुलाई दुई समूहमा विभाजन गरिएको छ । जस अनुसार समूह ‘ए’मा नेपाल पुलिस क्लव, आयोजक सहारा क्लव पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङम्रस्याङ्दी क्लव र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन् । त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लव, फ्रेण्ड्स क्लव, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।
प्रतियोगिताको उद्घाटन खेलमा प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहारा क्लव र गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ प्रतिष्पर्धामा उत्रिने क्लवका अध्यक्ष केशबबहादुर थापाले जानकारी दिए । दोस्रो दिन माघ २८ गते बुधबार जाउलाखेल युथ क्लवबिरुद्द मच्छिन्द्र फुटबल क्लव, माघ २९ गते विहीबार सशस्त्र प्रहरीको एपिएफ क्लवबिरुद्द मनाङमस्र्याङ्दी क्लव, फागुन १ गते शुक्रबार फ्रेण्ड्स क्लवबिरुद्द प्लानिङ ब्वाईज युनाईटेडले प्रतिष्पर्धा गर्ने अध्यक्ष थापाले जानकारी दिए । पहिलो चरणमा जितेका क्वाटरफाइनल चरणमा प्रवेश गर्ने जनाइएको छ । समूह ‘ए’ मा नेपाल पुलिस क्लव र थन्डरबोल्ट नर्थ युनाईटेड भारत तथा समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड र आभा एफसी उज्वेकिस्तान बाई पाएर सिधै क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
प्रतियोगिता यस वर्ष फ्लड लाईटमा खेलाइने भएको छ । खेल फ्लड लाईटमा खेलाईने भए पनि स्थायी फ्लड लाईट नभई अस्थायी फ्लड लाईटमा खेलाईन लागेको हो । जसका लागि भारतबाट भाडामा ल्याएर जडान गरिने आयोजक सहारा क्लव पोखराले जनाएको छ । अस्थायी फ्लड लाईट ३५ फुटको हुने अध्यक्ष थापाले जानकारी दिए । फ्लड लाईटमा खेलाईने भए पनि खेल पूरै खेल फ्लड लाईटमा नखेलाईने उनले बताए । खेल उज्यालोमै शुरु हुन्छ,उनले भने,‘मध्यान्तर पछिको खेलमात्रै फ्लड लाईटमा खेलाईन्छ ।’
प्रतियोगितामा यस बर्ष पुरस्कार राशीमा दुई लाख बृद्धि गरिएको छ । प्रतियोगिताको यस संस्करणमा उपाधि बिजेतालाई १४ लाख १ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने क्लवका महासचिव गंगाराज पौडेलले जानकारी दिए । गत वर्ष बिजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेका थिए ।
त्यस्तै, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षक, सर्वाधिक गोलकर्ता, उदीयमान खेलाडीलाई पनि नगदसहित ट्रफी प्रदान गरिने उनले बताए । यसैगरी, प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’ घोषित गरि नगद १० हजारसहित ट्रफी प्रदान गरिनेछ भने भाग्यशाली दर्शक र फ्यान अफ दि म्याचलाई पनि नगद पुरस्कार दिईने उनले जानकारी दिए ।
क्लवले रजत जयन्तीको अवसरमा २५ जनालाई सम्मान गर्ने जनाएको छ । यस वर्षसर्वोत्कृष्ट खेलाडीबाट नेपाली महिला फुटबलकी प्रिती राईलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।
हिमश्री फुड्स प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउ प्रतियोगिताको मुख्य प्रायोजक रहेको छ । प्रतियोगिता सञ्चालनमा पोखरा महानगरपालिका संरक्षक, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, प्रदेश खेलकुद परिषद गण्डकी, जिल्ला खेलकुद विकास समिति कास्की, एन्फा कास्की, सहारा यूके, सहारा हङकङ र सहारा क्लब अष्ट्रेलियाको विशेष सहयोग रहने क्लवका उपाध्यक्ष पूर्णबहादुर गुरुङले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






