सन्देश श्रेष्ठ
पोखरा, माघ २६
पर्यटकीय नगरी पोखरामा आगामी फागुन २ गते हुने अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगितामा १० हजार धावक दौडिने भएका छन् । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरालाई खेलकुद पर्यटन सहरको रुपमा स्थापित गर्ने उद्देश्यले ‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ हुने प्रतियोगितामा २१ विधामा १० हजार धावक दौडिने सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । जसमा प्रतिष्पर्धात्मक रुपमा ३ हजार ५ सय ६ र रन फर फनमा ६ हजार ७ सय जना गरी कुल १० हजार २ सय ६ जना दौडिने आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत खुल्ला म्याराथनमा २१ देशका ६० भन्दा बढी विदेशी धावकसहित १५१ जनाले प्रतिष्पर्धा गर्ने जनाइएको छ । फूल म्याराथनकै ४५ वर्ष भन्दा माथिको उमेर समूहमा २८ जना धावक दौडिने मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिए । हाफ म्याराथन पुरुषतर्फ ८ विदेशीसहित १८८ जना, महिलातर्फ ८ विदेशीसहित १९० जना, ४५ वर्ष भन्दा माथिको उमेर समूहमा १ विदेशीसहित २५ जनाले दौडिनका लागि नाम दर्ता गराएको उनले बताए ।
१० किलोमिटर दौड विधाको पुरुषतर्फ ७ विदेशीसहित २०७ जना, महिलातर्फ ६ विदेशीसहित ८६ जना, ५ किलोमिटर भेट्रान्स (५० वर्ष माथि)कोमा पुरुषतर्फ ७५ जना र ५ किलोमिटर भेट्रान्स (४५ वर्ष भन्दा माथि)कोमा महिलातर्फ ३० जना दौडिने जनाइएको छ । ५ किलोमिटर छात्रतर्फ १ हजार ६ सय ५० र छात्रातर्फ ४ सय ७५ जना, ५ किलोमिटर पुरुष (१७ देखि ४९ वर्ष उमेर समूह)तर्फ २ सय २५ जना, ५ किलोमिटर महिला (१७ देखि ४४ वर्ष उमेर समूह)तर्फ ८० जना, ५ किलोमिटर कर्पोरेट महिलातर्फ १ सय ६० जना र ५ किलोमिटर कर्पोरेट पुरुषतर्फ ७० जना दौडिने उनले जानकारी दिए ।
प्रतिष्पर्धात्मक दौडबाहेक सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथनमा अप्रतियोगीका रुपमा रन फर फन दौड पनि हुने अध्यक्ष गुरुङले जानकारी दिए । जहाँ दौडिन नसक्ने तर रहर गर्नेहरु दौडिन पाउनेछन् ।
२० औं सफल पोखरा अन्र्तराष्ट्रिय म्याराथन प्रतियोगिताको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको सचिव महेश पौडेलले जानकारी दिए ।
आयोजकका अनुसार पोखरा रंगशालाबाट फागुन २ गते विहान ठीक ७ बजे म्याराथन शुरु हुनेछ । ४२.१९५ किलोमिटरको म्याराथन दौड रंगशालाबाट शुरु भएर पृथ्वीचोक, अमरसिंहचोक, कदम मार्ग, मियापाटन, गौंडाकोमुख, माटेपानी, पुरानोधारा, सयपत्रीचोक, पहेंलोपुल, नारायणस्थान मन्दिर, बाल मन्दिरचोक, पिएन क्याम्पस गेट, भीमकालीपाटन, हरिचोक, विन्ध्यबासिनी मन्दिर, बागलुङ बसपार्क, पस्र्याङ, जिरोकिमी, जरेबर, डिहिकोपाटन, खहरेचोक, वाटरफ्रन्ट, खपौंदी, माछापोखरी, भकुण्डे, चंखपुर, पामे, लौरुख, शिद्द वाराही मावि, लामो पुल, घाँटीछिना मुनि, घाँटीछिना पुगेर पुनः, पुल, शिद्द वाराही मावि, लौरुख, पामे, चंखपुर, भकुण्डे, माछापोखरी, खपौंदी, रातोमाटे, वाटरफ्रन्ट, खहरे, हल्लनचोकहुँदै वाराहीचोकस्थित मैदानमा आएर समापन हुने उनले बताए । प्रतियोगितालाई मञ्चले प्रविधीमैत्री बनाएको जनाएको छ । जस अनुसार हरेक धावकको दुबै खुट्टामा चिप्स राखेर दौडाईने र त्यसकै आधारमा उसले दौडिएको समय अनुसार रेकर्ड राखिने उनको भनाई छ ।
प्रतियोगिताबारे जानकारी दिदै मञ्चका अध्यक्ष तेजबहादुर गुरुङले विश्व परिवेशमा चर्चित शहरको नाममा आयोजना गरिने सिटी म्याराथनको अवधारणा अनुरुपनै सुन्दर पर्यटकीय नगरी पोखरालाई पनि खेलकुदका विश्व मानचित्रमा स्थापित गराउने, खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने र वर्षको एक दिन शहरकै उत्सवको रुपमा प्रतियोगितालाई स्थापित गराउने आफूहरुको उद्धेश्य अनुसार प्रतियोगितालाई निरन्तरता दिदै आएको बताए । उनले प्रतियोगिहरुलाई घर अगाडि आईपुग्दा स्थानियले घडा र कलश राखेर स्वागत गर्ने पनि जानकारी दिए ।
पोखराको प्रतिष्ठित खेलको रुपमा स्थापित पोखरा म्याराथनलाई सुजल डेरी उधोगको उत्पादन सफल दुधले निरन्तर मुख्य प्रायोजन गर्दै आइरहेको छ ।
म्याराथनमा प्रथम हुनेले ४ लाख, दोश्रो हुनेले २ लाख, तेश्रो हुनेले १ लाख, चौथो हुनेले ५० हजार, पाचौं हुनेले ३० हजार, छैटौं हुनेले २० हजार, सातौं हुनेले १० हजार आठौं हुनेले ५ हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
४५ वर्ष भन्दा माथिको उमेर समूहको म्याराथनमा प्रथम हुनेले २५ हजार, द्वितीय हुनेले १५ हजार र तृतीय हुनेले १० हजार प्राप्त गर्ने जनाइएको छ । त्यस्तै, म्याराथन अन्तर्गत नै नेपाल विधामा प्रथम हुनेले १ लाख, द्वितीय हुनेले ५० हजार, तृतीय हुनेले २५ हजार, चौथो हुनेले १५ हजार र पाचौं हुनेले १० हजार तथा गण्डकी विधामा प्रथम हुनेले ५० हजार, द्वितीय हुनेले ३० हजार, तृतीय हुनेले २० हजार, चौथो हुनेले १५ हजार र पाचौं हुनेले १० हजारसहित मेडल र प्रमाण पत्र प्राप्त गर्ने अध्यक्ष गुरुङले जानकारी दिए ।
हाफ म्याराथनको पुरुष तथा महिला दुबैतर्फ प्रथम हुनेले ७५ हजार, द्वितीय हुनेले ५० हजार, तृतीय हुनेले ३० हजार, चौथो हुनेले २० हजार पाचौं हुनेले १० हजार, ४५ वर्ष भन्दा माथि उमेर समूहको हाफ म्याराथनमा प्रथम हुनेलाई २० हजार, द्वितीय हुनेलाई १५ हजार र तृतीय हुनेलाई १० हजार प्रदान गरिने उनले बताए ।
१० कि.मी. पुरुष÷महिला दौडमा प्रथमले ३०, दोश्रोले २० हजार र तेश्रो हुनेले १५ हजार, ५ किलोमिटर छात्र–छात्रा दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । ५किलोमिटर ४५ वर्ष माथिको दौड महिलातर्फ र ५० वर्ष माथिको पुरुष दौडमा प्रथम हुनेले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ । ४४ वर्षभन्दा मुनिको ५ किलोमिटर खुल्ला महिला तथा ४९ वर्षभन्दा मुनिको पुरुष दौडमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार, कर्पोरेटतर्फको महिला तथा पुरुष दौडमा पनि प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत मा ह्विल चेयर पुरुष–महिला र १ सय मिटर दृष्टिविहिन महिला तथा पुरुष दौड भने माघ २४ गते नै सम्पन्न भइसकेको मञ्चले जनाएको छ । जसमा प्रथमले १० हजार, दोश्रोले ७ र तेश्रो ५ हजार प्राप्त गर्ने र सो पुरस्कार पनि फागुन २ गते हुने म्याराथन प्रतियोगिताको समापन कार्यक्रममै गरिने मञ्चले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






