पोखरा, २६ माघ ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।
बुद्धटोल युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा आज दोस्रो चरणका सम्पूर्ण खेल सकिएको खेल संयोजक निकेश गुरुङले बताए । उनका अनुसार आज भएको पहिलो खेलमा डेभिजफल्सले रामघाट रेडलाई १–० गोल अन्तरले पराजित गर्दै डेझिजफल्स प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे । डेभिजफल्सको जीतमा रविन्द्र केसीले निर्णायक गोल गरे ।
यसैगरी दोस्रो खेलमा लभ्ली ब्वाइज हेमजाले मुस्ताङ युनाइटेडलाई २–० गोल अन्तरले हरायो । लभ्ली ब्वाइजको जीतमा सविन थापा र रोहित नेपालीले समान १/१ गोल गरे ।
तेस्रो खेलमा लामागाउँ गुम्बाले कमलपोखरी एफसीमाथि १–० गोल अन्तरले सँघर्षपूर्ण जीत निकाल्यो । लामागाउँको जीतमा सरोज तामाङले निर्णायक गोल गरे ।
चौंथो खेलमा स्याङ्जा युथ क्लबले सुजन डल्ला एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्याे । स्याङ्जाको जीतमा राजेश राजपाल र समिर पुरीले समान १/१ गोल गरे । भने, डल्ला एफसीको तर्फबाट प्रसन्न श्रेष्ठले सान्त्वना १ गोल फर्काए ।
एनएसवाइसी पुरुन्चौर र एन्जो ग्रुपबीच भएको पाँचौ खेल गोलरहित भएपछि पेनाल्टी सुटआउटमा पुरुन्चौरले २–१ गोल अनतरले पराजित गर्दै प्रिक्वाटरफाइनलमा स्थान बनायो ।
‘सिक्स भर्सेस सेभेन’
यस्तै आज भएको अन्तिम खेल निकै रोचक बन्यो । मिक्की एफसी र रामघाट ह्वाइटबीच भएको खेलमा १४ औं मिनेटमा रामघाटका सुदेश गुरुङले पहिलो गोल गरे ।
त्यसपछि खेलको दोस्रो हाफको २१ औं मिनेटमा मिक्की एफसीका अमिर गुरुङले १ गोल फर्काउदै खेल बराबरीमा ल्याए । त्यसपछि निकै प्रतिस्पर्धात्मक बनेको खेलमा रामघाटका डिफेण्डर निशान श्रेष्ठ रातो कार्डको शिकार बने ।
रामघाट ६ जना खेलाडीमा सिमित बन्यो । तर, त्यसको फाइदा भने मिक्की एफसीले उठान सकेन ।
रामघाटमाथि हाबी भएपनि खेलको २९ औं मिनेटमा रामघाटका लागि सुदेश गुरुङले अर्काे गोल गर्दै दोब्बर बनाए । अन्त्यमा त्यही गोल निर्णायक बन्याे । र, रामघाट ह्वाइट प्रिक्वाटरफाइनलमा प्रवेश गरेकाे क्लबका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
उनका अनुसार अब मंगलबार प्रिक्वाटरफाइनलका ८ खेल हुनेछ ।प्रतियोगिताको विजेतालाई २ लाख २ सय २२ रुपैयाँ र उपविजेतालाई १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






