पोखरा । नेपाली लोक गीत–संगीतका चर्चित गायक तथा संगीतकार लोक शिल्पी कल्याण शेरचनको शालिक पोखरामा अनावरण गरिएको छ। पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले आइतबार पोखरा–१८ स्थित जामुन बोट क्षेत्रमा स्थापित शालिकको अनावरण गर्नुभयो।
कल्याण शेरचन प्रतिष्ठानद्वारा निर्माण गरिएको शालिक अनावरण कार्यक्रममा कलाकार, साहित्यकार, संगीतप्रेमी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। कार्यक्रममा मेयर आचार्यले शेरचनको नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँको स्मृतिलाई अमर बनाउने उद्देश्यले शालिक स्थापना गरिएको बताउनुभयो।
प्रतिष्ठानका प्रतिनिधिहरूले कल्याण शेरचन केवल गायक मात्र नभई नेपाली संगीतलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने व्यक्तित्व भएको धारणा व्यक्त गर्दै भावी पुस्ताका लागि उहाँ प्रेरणाको स्रोत रहने बताए।
पोखरामा जन्मिनुभएका शेरचन २०३० को दशकदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय रहनुभयो। उहाँको आवाज, भावपूर्ण गायनशैली र जीवन्त प्रस्तुति नेपाली संगीतप्रेमीमाझ लोकप्रिय रह्यो। नेपाली गीत–संगीतलाई मनोरञ्जनसँगै सामाजिक चेतनाको माध्यमका रूपमा स्थापित गर्न उहाँको योगदान महत्वपूर्ण मानिन्छ।
‘हे माया लाउँदा लाउँदै’, ‘तिमीलाई देखेर मनै खुशी भयो’, ‘मनको कुरा बुझिदिने कोही भए’, ‘पोखराको फेवातालैमा’ लगायतका गीतहरू आज पनि कालजयी कृतिका रूपमा सुन्ने गरिन्छन्।
शालिक अनावरणसँगै पोखरा–१८ को जामुन बोट क्षेत्र कल्याण शेरचनको स्मृतिसँग जोडिएको सांगीतिक गन्तव्यका रूपमा विकास हुने विश्वास गरिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






