आहा ! रारा पोखरा गोल्डकप : उद्घाटन खेलमा आयोजक सहारा बिजयी


     एभरेस्ट आवाज    
     माघ २७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ २७

आहा ! रारा पोखरा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लव बिजयी भएको छ । सहारा क्लव पोखराको आयोजनामा फागुन ९ गतेसम्म हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सहाराले पाहुना टोली गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङलाई १–० गोल अन्तरले पराजित गर्दै बिजयी यात्रा शुरु गरेको हो । सहाराको जितमा प्रसन्न श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको खेलको अतिरिक्त समयमा गोल गर्दै सहारालाई अर्को चरणमा पुग्न सहारा दिए ।

पोखरामा पहिलो पटक फ्लड लाईटमा खेल खेलाईंदै थियो । प्रतिष्पर्धात्मक रुपमा भइरहेको खेल सकिनै लागेको थियो । निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समय पनि घर्किन लागेको थियो । त्यहिबेला प्रसन्नले अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै सहारालाई बिजयी गराए । बिजयीसँगै सहारा क्वाटरफाइनलमा प्रवेश गरेको छ । क्वाटरफाइनलमा सहाराले नेपाल पुलिस क्लवको सामना गर्नेछ ।

बिजयी गोल गरेका प्रसन्न मंगलबारको प्लेयर अफ द म्याच पनि घोषित भए ।

प्रतियोगितामा ३ विदेशीसहित १२ टिम सहभागी छन् । दुई समूहमा विभाजित गरिएको प्रतियोगिताको समूह ‘ए’मा नेपाल पुलिस क्लव, आयोजक सहारा क्लव पोखरा, गोर्खा इन्टरनेशनल फुटबल क्लब हङकङ, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङम्रस्याङ्दी क्लव र थन्डरबोल्ट नर्थ युनाईटेड भारत रहेका छन् । त्यस्तै, समूह ‘बी’मा अपी पावर चर्च ब्वाईज युनाईटेड, जाउलाखेल युथ क्लव, मच्छिन्द्र फुटबल क्लव, फ्रेण्ड्स क्लव, प्लानिङ ब्वाईज युनाइटेड र आभा एफसी उज्वेकिस्तान रहेका छन् ।

प्रतियोगिता अन्तर्गत बुधबार जाउलाखेल युथ क्लवबिरुद्द मच्छिन्द्र फुटबल क्लव प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

यसअघि मंगलबारदेखि शुरु भएको प्रतियोगिताको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरेका थिए । सो अवसरमा सहारा क्लवको रजत वर्षको अवसरमा क्लवको स्थापनाकालदेखि सहयोग गर्ने विभिन्न क्षेत्रका २५ जनालाई सम्मान गरिएको थियो । सो अवसरमा नेपाली महिला फुटबल टोलीकी स्ट्राईकर प्रिती राईलाई सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कारबाट नगद ३५ हजारसहित पुरस्कृत गरिएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।