कास्कीका पत्रकारलाई निर्वाचन रिपोर्टिङ सम्बन्धी तालिम


     एभरेस्ट आवाज    
     माघ २८ गते २०८२ मा प्रकाशित




कास्कीमा क्रियाशील पत्रकारहरुलाई लक्षित गरी निर्वाचन रिपोर्टिङ सम्बन्धी दुई दिने तालिम पोखरामा सुरु भएको छ ।

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सहयोगमा नेपाल पत्रकार महासंघ कास्कीले आयोजना गरेको तालिम २ दिनसम्म संचालन हुने छ । तालिमको शुभारम्भ गर्दै कास्की जिल्ला अदालतका न्यायाधीश एवम प्रतिनिधि सभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ का मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र बनाउन सञ्चारमाध्यम र पत्रकारको महत्वपूर्ण भूमिका रहने बताए । उनले लोकतन्त्र सक्षम भए मात्र जनताका आधकार सुनिश्चित हसने बताउँदै,निर्वाचनका क्रममा गरिने समाचार संप्रेषण र रिपोर्टिङलाई सत्य, निष्पक्ष र स्वतन्त्र बनाउन सुझाव दिए ।

गण्डकी प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी नारायण ढकालले पत्रकारले निर्वाचनका बेला आफ्नो पक्षधरता नदेखाई स्वतन्त्र रुपमा आम जनता माझ यथार्थ सूचना प्रकाशन र प्रसारण गर्नुपर्ने बताए ।उनले निवार्चन आचारसहिंता र निर्वाचन प्रक्रियाका बारेमा प्रस्तुतिकरण दिएका थिए ।तालिममा पत्रकार भरत कोइरालाले पत्रकारले निवार्चन रिपोर्टिङका क्रममा बटुलेको अनुभव सुनाउँदै, आमसञ्चार माध्यमले पाठक,स्रोता र दर्शक प्रतिको विश्वास नगुमाउन निष्पक्ष एवम् तथ्यपरक समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले निर्वाचनलाई भय र धाँधली रहित बनाउन पत्रकारिताको पनि भूमिका रहने भएकाले निर्वाचन सम्बन्धी रिपोर्टिङ तालिम आयोजना गरिएको बताए । उनले पत्रकारिता जहिले पनि देश र जनाताको पक्षमा हुनुपर्ने बताए । अध्यक्ष बरालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत महासंघ कास्कीका उपाध्यक्ष माधव रेग्मी र सञ्चालन सचिव भुपाल गुरुङले गरेका थिए ।

विभिन्न संचारमाध्यममा आवद्घ ७५ जना पत्रकार तालिममा सहभागी भएको सहसचिव तथा प्रचार विभाग प्रमुख मधु अधिकारीले जानकारी दिए । तालिममा निर्वाचन सम्बन्धी कानुन, निर्वाचन प्रक्रिया, पत्रकार आचारसंहिता र निर्वाचन सुरक्षा संवेदनशिलता लगाय विषय समेटिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।