आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेलको बिजयी शुरुवात


     एभरेस्ट आवाज    
     माघ २८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, माघ २८

पोखराको प्रतिष्ठित प्रतियोगिता आहा ! रारा पोखरा गोल्डकपमा जाउलाखेल यूथ क्लवले बिजयी शुरुवात गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको प्रतियोगिताको दोस्रो दिन जाउलाखेलले मच्छिन्द्र क्लवलाई शून्यकाबिरुद्द दुई गोलले पराजित गर्दै सुखद शुरुवात गरेको हो ।

बुधबारको खेलमा जाउलाखेलले दुबै गोल दोस्रो हाफमा गर्यो । जाउलाखेलका लागि विदेशी खेलाडी द्वय निकोलास ओडाने हामिल्टन र बौबसर सिस्सोखोले गोल गरे । प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा पहिलो हाफमा दुबै टिमले गोल गर्न असमर्थ रहे । तर दोस्रो हाफपछि आक्रामक बनेको जाउलाखेलका लागि ५४ औं मिनेटमा हामिल्टनले गोल गर्दै अग्रता दिलाए । उनले बिपक्षी खेलाडीको खुट्टाबाट बल खोस्दै गरेको प्रहार गोलमा परिणत भएको थियो । पहिलो गोल गरेको ८ मिनेट पछि नै सिस्सोखोले गोल थप्दै जाउलाखेलको अग्रता दोब्बर बनाए । यस पटक हामिल्टानको पासमा उनले गोलपोष्टको दिशा दिए । त्यसपछि दुबैतर्फ गोल हुन नसकेपछि जाउलाखेल बिजयीहुँदै क्वाटरफाइनलमा प्रवेश गर्यो भने पराजित मच्छिन्द्र पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरियो ।

बुधबारको बिजेता जाउलाखेलले अब क्वाटरफाइनलमा आईतबार चर्च ब्वाईज युनाइटेडसँग प्रतिष्पर्धा गर्नेछ ।

प्रतियोगिता अन्तर्गत विहीबार सशस्त्र प्रहरीको एपीएफ क्लव र मनाङमस्र्याङ्दी क्लवबीच प्रतिष्पर्धा हुने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।