सन्देश श्रेष्ठ
पोखरा, फागुन १
प्लानिङ ब्वाईज युनाईटेड पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा भइरहेको आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करण अन्तर्गत शुक्रबार भएको प्रतियोगिताको चौथो खेलमा फ्रेण्ड्स क्लवलाई पराजित गर्दै प्लानिङ ब्वाईजले क्वाटरफाइनलमा स्थान बनाएको हो । शुक्रबारको खेलमा फ्रेण्ड्स क्लवको पोष्टमा प्लानिङ ब्वाईजले एकतर्फी ४ गोल हान्यो ।
प्लानिङ ब्वाईजका लागि पापा आईबाउले केबेले ह्याट्रिक गोल गरे भने एलेक्स विलियनले एक गोल गरे । कमजोर फ्रेण्ड्सबिरुद्द प्लानिङ ब्वाईजले २४ औं मिनेटमा खाता खोलेको थियो । उसका लागि एलेक्स विलियनले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो गोलपछि फ्रेण्ड्सबिरुद्द थप हाबी भएको प्लानिङ ब्वाईजका लागि पहिलो हाफको अन्तिम मिनेटमा केबेले व्यक्तिगत पहिलो र टिमका लागि दोस्रो गोल गर्दै अग्रता दोब्बर बनाए । पहिलो हाफमा दुई गोल गरेको प्लानिङ ब्वाईजले दोस्रो हाफमा पनि थप दुई गोल गर्यो । प्लानिङ ब्वाईजका लागि केबेले ५४ औं मिनेटमा व्यक्तिगत दोस्रो र टिमका लागि भने तेस्रो गोल गर्दै अग्रता तेब्बर पारे । त्यतिमा नरोकिएका केबेले खेलको ८१ औं मिनेटमा टिमका लागि चौथो गोल गर्दै ह्याट्रिक पूरा गरे । यो प्रतियोगिताकै पहिलो ह्याट्रिक गोल हो ।
खेलमा प्लानिङ ब्वाईजका लागि ह्याट्रिक गोलकर्ता केबे प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगितामा शनिबारदेखि क्वाटरफाईनलका खेलहरु सञ्चालन हुने आयोजक सहारा क्लव पोखराले जनाएको छ । क्वाटरफाइनलको पहिलो खेलमा शनिबार आयोजक सहारा क्लव र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुने अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । खेल अपराह्न ३ बजेदेखि शुरु हुने उनले बताए । फ्लड लाईटमा खेल्दा समस्या आएपछि खेलको समय तालिका परिवर्तन भएको छ,उनले भने,‘अब हरेक दिन अपराह्न ३ बजेदेखि नै खेल सञ्चालन हुनेछ ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






