मुक्तक सञ्चयन ‘दामली अक्षर’ सार्वजनिक


     एभरेस्ट आवाज    
     फागुन ३ गते २०८२ मा प्रकाशित




पोखरेली सर्जकहरुको मुक्तक सञ्चयन ‘दामली अक्षर’ पोखरामा सार्वजनिक भएको छ ।

पोखराका चार जना सर्जकहरुको संयुक्त लेखनमा रहेको कृतिको शब्दालय पोखराले सार्वजनिक गरेको हो । कार्यक्रममा मुक्तककार ईश्वरमणि अधिकारी, जीवनसागर भण्डारी, दीपक समीप र लक्ष्मण थापाको संयुक्त कृति ,सर्जक लक्ष्मणकी जीवनसाथी मैयाँ, ईश्वरमणिकी जीवनसाथी रीता,समीपकी जीवनसाथी सर्मिला र जीवनसागरकी जीवनसाथी मञ्जुले सार्वजनिक गरे । कार्यक्रममा साहित्यकार सरूभक्तले नेपाली तथा विश्व साहित्यमा संयुक्त कृति प्रकाशनको परम्परा र इतिहासबारे चर्चा गर्दै, उनले पोखराका ४ सर्जकका मुक्तकले नेपाली प्रतिनिधि मुक्तकको स्वरुप देखाउने जनाए ।

साहित्यकार तीर्थ श्रेष्ठले नेपाली मुक्तकको लेखन र वाचनमा पोखराको अग्रणी स्थान रहेको बताए । कवि रमेश श्रेष्ठले अक्षरमा हुने शक्ति र सौन्दर्य सबैभन्दा उच्च हुने बताए । कार्यक्रममा सर्जकहरु लक्ष्मण थापा,डा ईश्वरमणि अधिकारी, दीपक समीप र जीवन सागर भण्डारीले आ आफ्ना रचना सहित लेखन साथै प्रकाशन दौरानका सन्दर्भहरु सुनाएका थिए । पोखरेली युवा सांस्कृतिक परिवारकी अध्यक्ष रीता अधिकारी, ‘ऋतु’ले मुक्तक विधा चोटिलो र समग्र भएको बताईन् ।

उपस्थित सम्पूर्ण साहित्य अनुरागीलाई सभाध्यक्ष बनाईएको कार्यक्रमको संचालन कवि अमृत क्षेत्रीले गरेका थिए ।१ सय ६० मुक्तक रहेको कृतिको मूल्य ३ सय ३३ रुपैयाँ छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।