पर्वत जिल्लामा पछिल्लो आठ वर्षका अवधिमा २१ मोटरवेल पुलहरुको निर्माण सम्पन्न भएको छ ।
जिल्लाका विभिन्न स्थानमा ती मोटरवेल पुल बनेका हुन्।सडक सञ्जालले जिल्लाका ६१ वटै वडा, टोल तथा बस्तीसम्म पनि पहुँच पुगेको पर्वतमा ग्रामीण सडकलाई बाह्रैमास सञ्चालन गर्नका लागि पुल निर्माण भएका हुन् । जिल्लामा कूल २१० किलोमिटर ग्रामीण सडक कालोपत्र भएको जिल्लामा मध्यपहाडी लोकमार्गमा दुई, कालीगण्डकी करिडोरमा तीन गरी ग्रामीण सडकसहित कूल २१ मोटरवेल पुलको निर्माण भएका छन् ।
संसदीय निर्वाचनसँगै प्रदेश तथा स्थानीय तहको निर्वाचनको यो अवधिमा विकासमा समीक्षामा भौतिक पूर्वाधार तर्फ पर्वत जिल्लामा उल्लेखनीय प्रगति भएको देखिन्छ । मुख्य गरी कालीगण्डकी नदी र मोदीखोला पर्वत जिल्लाका दुई ठूला नदी रहेका छन् । ती नदीहरुमा लामा पुल निर्माण भएका छन्, भने ग्रामीण क्षेत्रमा रहेका साना खोलामा छोटा पुलको निर्माण भएका छन् । निर्माण सम्पन्न भएका पुलहरुमा सडक सञ्चालन नियमित रुपमा भइरहेको छ ।ती पुलहरुमा मोदीवेणीस्थित मोदी खोला, भूकताङलेको झिलिबराङमा भुरुङदीखोला, तिलाहारको रतीखोला, दुर्लुङ र बाजुङ जोड्ने आम्बोटखोला, जहरे– दोविल्ला, पकुवाआर्थर जोड्ने जहरेखोला गङ्गटे पुल छन् ।
यसैगरी नयाँ पुल– सेराबेँसी, दक्षिण पर्वतको पैँयू गाउँपालिकामा पर्ने मर्दि खोला, सेतीखोला, रिठेखोला, गेडीखोला, फलेवास नगरापलिकाको चिर्दीखोला मोटरवेल पुल रहेका छन् । यही अवधिमा बनेको सिब्दीखोला, पैंयू ६ सरौखोलास्थित छत्तिसेघाट, फलेवास–जैमिनिघाट, कालीगण्डकी, देविस्थान– कुर्घा जोड्ने लमायखोला, महाशिला वडा नं १ र पैयूँ– ६ जोड्ने अगुवाखोला, रानीपानी–इमिचौरदेखि गुल्मीपूर्तिघाट जोड्ने कालीगण्डकीे, मोदी १ स्थित भुकदेखि कास्की अन्नपूर्ण गाउँपालिका जोड्ने भुरुङदीखोला पुल, मध्यपहाडी राजमार्ग अन्तरगत तमादीखोला र बगरफाँट– बेनी जोड्ने कालीगण्डकी नदीमा ट्रस्ट ब्रिजनिर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ ।
यसैगरी जिल्लामा अझै आधा दर्जन मोटरवेल पुलको मागभएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । ती पुलको डिपीआर तयार भए पनि बजेटको भने सुनिश्चित भइसकेको छैन् । मोदीखोलामा गाडतारा–आम्बोट तथा झाप्रे बगरमा मोटरवेल पुलको सम्भाब्यता अध्ययन सकिएको छ भने कल्लेरीघाट तथा बगरफाँटमा गरी दुई स्थानमा कालीगण्डकी नदीमा मोटरवेल पुलको निर्माण कार्यका लागि योजना सुनिश्चत हुन बाँकीे छ ।कतिपय पुल सङ्घीय सरकारको भौतिक पूर्वाधार मन्त्रालय र कतिपय गण्डकी प्रदेश सरकारमार्फत पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो ।
यी बाहेक मल्याङ्दीखोला र पराधिस्थित मोदीखोलामा दुई पुल निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालले जानकारी दिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







