सन्देश श्रेष्ठ
पोखरा, फागुन ५
मनाङमस्र्याङ्दी क्लव आहा ! रारा पोखरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । मनाङमस्र्याङ्दी थण्डरबोल्ट नर्थ युनाईटेड क्लब सिक्कीमबिरुद्द १–० को कठीन जित निकाल्दै सहारा क्लव पोखराले आयोजना गरेको आहा ! रारा पोखरा गोल्डकपको अन्तिम चारमा पुगेको हो । मनाङमस्र्याङ्दीको जितमा आशिष श्रेष्ठले निर्णायक गोल गरे । उनले निर्धारित ९० मिनेटको समय सकिएर थपिएको अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी समयमा गोल गर्दै मनाङलाई बिजयी गराए ।
प्रतिष्पर्धात्मक रुपमा भएको खेलमा पहिलो र दोस्रो हाफ गोलरहित बराबरी भएको थियो । पहिलो हाफ पर्ख र हेरको रणनीति अप्नाएको दुबै टोलीले दोस्रो हाफमा भने एकअर्काप्रति दवाब बढाएका थिए । काउण्टर अट्याकको रणनीति बनाएको दुबै टिमले गोल गर्ने अवसर प्राप्त गरे पनि सदूपयोग गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको पहिलो हाफको ईञ्जुरी समयमा मनाङले कर्नर पायो । जसको सदूपयोग गर्दै मनाङका आशिष श्रेष्ठले हेडर गोल गरे । त्यसपछिको अतिरिक्त समयको दोस्रो हाफमा दुबै तर्फबाट गोल गर्न नसकेपछि सोहि गोल नै निर्णायक बन्यो ।
यसअघि निर्धारित ९० मिनेटको समय सकिए पछि थपिएको सातौं मिनेटमा थण्डरबोल्टको गोलले मान्यता नपाउनु उसका लागि दुर्भाग्य बन्यो । खेलको ९७ औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट थन्डरबोल्टका खेलाडी सुराग क्षेत्रीले गरेको प्रहार बारमा लागेर गोल लाईन भित्र ठोक्किएर रिबाउण्ड भए पनि रेफ्री उमेश विडारीले मान्यता दिएनन् । यस विषयमा थन्डरबोल्टले केहिबेर गोल भएको जिकीरसमेत गरेको थियो । सो गोलले मान्यता नपाउनु नै दुर्भाग्य बन्दा थन्डरबोल्ट पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।
सोमबारको खेलमा मनाङका लागि निर्णायक गोलकर्ता आशिष श्रेष्ठ प्लेयर अफ म्याच घोषित भए ।
खेल सकिएपछि पोष्ट म्याच कन्फरेन्समा बोल्दै थन्डरबोल्टका प्रशिक्षक आशिष क्षेत्रीले भएको गोलले मान्यता नपाउनु दुर्भाग्य भएको बताए । यद्वपी रेफ्रिको निर्णय नै अन्तिम निर्णय हुने भएकाले त्यसमा दुःखेसो नरहेको उनको भनाई थियो । त्यो गोलले मान्यता पाएको भए जितका लागि टर्निङ प्वाईन्ट बन्थ्यो,उनले भने,‘तर गोलले मान्यता नपाएकाले त्यसप्रति कुनै गुनासो पनि रहेन ।’
प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल हुनेछ । सेमीफाइनल प्रवेश गर्ने अन्तिम टोलीको टुंगो लगाउनका लागि हुने खेलमा प्लानिङ ब्वाईज युनाईटेड र आभा एफसी उज्वेकिस्तान प्रतिष्पर्धामा उत्रिने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए । प्लानिङ ब्वाईज फ्रेण्ड्स क्लवलाई पराजित गरेर क्वाटरफाइनलमा स्थान बनाएको टोली हो भने आभा एफसी सिधै वाई पाएर क्वाटरफाइनलमा आएको हो ।
प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम महाधिवेशन सुरु भएको छ । भरतपुरको ‘गेष्टहाउस’…






