सन्देश श्रेष्ठ
पोखरा, फागुन ५
पोखरामा जारी आहा ! रारा पोखरा गोल्डकपमा सेमीफाइनल समीकरण पूरा भएको छ । पोखरा रंगशालामा भइरहेको प्रतियोगिता अन्तर्गत मंगलबार अन्तिम क्वाटरफाइनल खेल सकिएसँगै प्रतियोगितामा सेमीफाइनल समीकरण पूरा भएको हो । मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानले प्लानिङ ब्वाईज युनाइटेडलाई १–० ले पराजित गर्दै सेमीफाइनल यात्रा तय गर्यो ।
यसअघि आयोजक सहारा क्लव पोखरा, जावलाखेल युथ क्लव र ६ पटकको उपाधि बिजेता मनाङमस्र्याङ्दी क्लवले अन्तिम चारका लागि स्थान सुरक्षित गरिसकेका छन् ।
फाइनल प्रवेशका लागि हुने सेमीफाइनलको पहिलो खेलमा बुधबार आयोजक सहारा क्लव पोखरा र मनाङमस्र्याङ्दी क्लव प्रतिष्पर्धामा उत्रिनेछन् । सेमीफाइनलको दोस्रो खेलमा भने विहीबार आभा एफसी उज्वेकिस्तानबिरुद्द जाउलाखेल युथ क्लव भिड्ने आयोजक सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।
मंगलबारको अन्तिम क्वाटरफाइनल खेलमा आभा एफसी उज्वेकिस्तानले प्लानिङ ब्वाईज युनाइटेडबिरुद्द १–० को कठीन जित हात पार्यो । बुढासुब्बा गोल्डकप जितेर आएको प्लानिङ ब्वाईजले उज्वेकिस्तानी टोलीलाई कडा टक्कर दिए पनि हार टार्न सकेन । पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ५६ औं मिनेटमा आभा एफसीले अग्रता बनायो । आभा एफसीका उमिदजोन कारिलोभले गरेको सो गोल नै निर्णायक गोल बन्यो । उनले मैदानको मध्य भागबाट दायाँसाईड च्यापेर हानेको प्रहारले सिधै जाली चुम्न पुगेको थियो । त्यसपछिको खेलमा प्लानिङ ब्वाईजले निरन्तर अवसर बनाईरहे पनि गोलमा परिणत गर्न नसक्दा क्वाटरफाइनलबाटै बाहिरिन बाध्य भयो ।
सो खेलमा निर्णायक गोलकर्ता उमिदजोन कारिलोभ प्लेयर अफ द म्याच घोषित भए ।
प्रतियोगिताको उपाधि बिजेताले १४ लाख १ हजार रुपैयाँ र उपविजेताले ७ लाख १ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






