राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ को अवसरमा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक भएका छन् ।
राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजित उक्त समारोहमा सरिक भएका हुन् । सो अवसरमा नेपाली सेनाले उनको सम्मानमा सलामी अर्पण गरेको थियो । समारोहमा नेपालको कला संस्कृति झल्कने विभिन्न झाँकी, मार्च पास, नृत्य र साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो ।समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवम् प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो ।
प्रधानमन्त्री सुशीला कार्कीले ७६औँ प्रजातन्त्र दिवसका अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेकी छन् । प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दैै २००७ सालको क्रान्तिले रैतीबाट नागरिक बनाए पनि २०१५ सालमा आजकै दिनबाट पहिलो संसदीय निर्वाचनको सुरुआत भएको स्मरण गर्दै आजको दिनलाई निर्वाचन दिवसका रुपमा समेत उल्लेख गरिन् । सामाजिक सञ्जालमा उनले “लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ । पटकपटक आन्दोलन गर्नुपर्यो । अब त्यस नियतिको अन्त्य गर्नैपर्छ । भ्रष्टाचार, नातावाद र विभेदविरुद्धको सङ्कल्पलाई संस्थागत सुधारमार्फत सम्बोधन गरौँ”, लेखेकी छन् ।
आजको दिनलाई निर्वाचन दिवसका रुपमा उल्लेख गर्दै प्रधानमन्त्रीले स्वच्छ, निष्पक्ष र भयमुक्त निर्वाचनमार्फत लोकतान्त्रिक स्थायित्व र समृद्ध नेपाल निर्माणका लागि एकजुट बन्न आग्रह गरिन् । प्रधानमन्त्री कार्कीले प्रजातन्त्र र सुशासनका लागि जीवन अर्पण गर्ने सम्पूर्ण सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, मंसिर ७ पोखरामा बुधबारदेखि फेवा किङ्ग्स कप राष्ट्रिय आमन्त्रित पुरुष…







