आहा ! रारा पोखरा गोल्डकपको उपाधि भिडन्त भोलि, जावलाखेल र सहारा आमनेसामने : कसले मार्ला बाजी ?


     एभरेस्ट आवाज    
     फागुन ८ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन ८

पोखरामा भोलि आहा १ रारा पोखरा गोल्डकपको उपाधि भिडन्त हुँदैछ । पोखरा रंगशालामा हुने फाइनल भिडन्तमा जावलाखेल युथ क्लव र आयोजक सहारा क्लव पोखरा आमनेसामने हुँदैछन् ।

शनिबार दिउँसो २ बजेपछि हुने उपाधि भिडन्त दुबैका लागि ऐतिहासिक हुनेछ । दोस्रो पटक उपाधि भिडन्त गर्न लागेको जाउलाखेल उपाधिविहीन् छ । त्यसैले उ उपाधि जितेर ईतिहास कोर्न चाहन्छ । भने आयोजक सहारा क्लव पोखराले जिते उसले ईतिहास दोहो¥याउने छ । २०७० सालमा उपाधि जितको सहारा १२ वर्षपछि उपाधि चुमेर ईतिहास दोहो¥याउन चाहन्छ । यद्वपी ९ वर्षअघि २०७३ सालमा उपाधि भिडन्तमा चुकेको सहारा यस पटक जित्न लालयीत छ ।

जावलाखेल प्रि–क्वाटरफाइनलमा मच्छिन्द्र क्लवलाई २–०, क्वाटरफाइनलमा अपी चर्च ब्वाईज युनाईटेडलाई ३–० र सेमीफाइनलमा विदेशी टोली आभा एफसी उज्वेकिस्तानलाई १–० ले पन्छाउँदै फाइनलमा प्रवेश गरेको हो । आयोजक सहाराले प्रि–क्वाटरफाइनलमा ईन्टरनेसनल फुटबल क्लव हङकङलाई १–०, क्वाटरफाइनलमा नेपाल पुलिस क्लवलाई सडन डेथमा ६–५ र सेमीफाइनलमा मनाङमस्र्याङ्दी क्लवलाई सडन डेथमै ७–६ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

यस प्रतियोगितामा भएको खेलमा हेड टु हेड हेर्ने हो भने जावलाखेल बलियो देखिन्छ । प्रतियोगितामा ३ खेल खेलेको जावलाखेलले तीनवटै खेलमा निर्धारित समयमै स्पष्ट जित निकालेको छ । त्यतिमात्र होईन प्रतियोगितामा कुनैपनि गोल नबेहोरेको जावलाखेलले एकतर्फी ६ गोल हानेको छ । तर अर्कोतर्फ आयोजक सहाराले दुई खेल सडन डेथमा आफ्नो पक्षमा पारेको छ भने एउटा खेलमा निर्धारित समयमै नतिजा आफ्नो पक्षमा पारे पनि कठीन जित निकालेको देखिन्छ ।

उपाधि भिडन्तमा पुगेका दुबै टिमको एउटा समानता छ, त्यो हो आक्रामक रणनीति । दुबै टिमले उपाधि भिडन्तमा पनि यहि रणनीति अप्नाउने बताएका छन् । शनिबार हुने फाइनल भिडन्त अघि शुक्रबार पोखरामा आयोजना गरिएको प्रि–म्याच कन्फिरेन्समा बोल्दै जावलाखेलका प्रशिक्षक सुनिलकुमार श्रेष्ठ सुष्पट जित निकाल्नेगरी मैदानमा उत्रिने बताउँछन् । जतिसक्दो चाँडो गोल निकाल्ने गरी हामी मैदानमा उत्रिन्छौं,उनले भने,‘हाम्रो रणनीति पहिले पनि आक्रामक थियो र फाइनलमा पनि यसले निरन्तरता पाउँछ ।’ यसो भनिरहँदा जावलाखेलका सेट टिमका युवराज ढकाल टिममा रहनेख छैनन् । सेमीफाइनलमा आभा एफसीसँगको खेलमा विपक्षी खेलाडीलाई हातपात गरेपछि रातो कार्ड पाएकाले उनले फाइनल खेल गुमाउनेछन् । तर त्यसले फरक नपाउने श्रेष्ठको दाबी छ । भने,‘बेञ्चका खेलाडी पनि एकसे एक छन्, युवराज नहुँदैमा हाम्रो रणनीति पनि बदलिदैन र खेलमा खास फरक पनि नपार्ला ।’ उनले विदेशी टिमलाई पराजित गरेर आएकाले खेलाडीमा उच्च मनोवल रहेको बताए । ‘हामी यस पटक उपाधि चुम्नेगरी मैदानमा उत्रिनेछौं ।’

जावलाखेलका कप्तान युनेस चौधरीले उपाधिको खडेरी तोड्न आफूहरु उच्च मनोवलका साथ मैदानमा उत्रिने बताए । विदेशी टिमलाई जितेपछि हामी सबैको उच्च मनोवल छ,उनले भने,‘यसलाई कायम राखेर हामी उपाधिको खडेरी तोड्न चाहन्छौं र यो पटक त्यो सम्भव पनि देखिरहेको छु ।’

चौथो पटक फाइनल खेल्न लागेको सहाराको भने सेटटिम छ । २०६९ मा फाइनल खेलेर उप–बिजेतामै चित्त बुझाएको सहाराले २०७० मा उपाधि चुमेको थियो । त्यसपछि २०७३ मा फाइनल खेलेर उप–बिजेता बनेको सहारा ९ वर्षपछि फेरी फाइनलमा पुगेकाले उपाधि चुम्ने योजनामा छ । विदेशी खेलाडीले रक्षापंक्ति सम्हाल्दा बलियो देखिएको सहारा सँधै आक्रमक रणनीतिमा देखिन्छ । तर स्कोरमा भने सँधै चुक्दै आएको छ । शुरुमै गोल गरेर अग्रता बनाउने योजनामा आफूहरु रहेको सहाराका प्रशिक्षक सुनिल राना बताए । उनले भने,‘घरेलु मैदानमा दर्शकको सपोर्ट पनि रहन्छ । त्यसैले हामी उपाधि उचालेर इतिहास दोहोर्याउन चाहन्छौं ।

सहाराका कप्तान सुशील लामाले उपाधि जितेर पोखरेलीलाई उपहार दिन आफूहरु तयार रहेको बताए । घरेलु मैदान छ अनि दर्शको साथ पनि,उनले भने,‘त्यसैले हामी हन्ड्रपर्सेन्ट दिएर उपाधि पोखरेलीलाई उपहार दिन चाहन्छौं ।’

सहारा क्लबको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा भईरहेको २५ औं संस्करणको बिजेताले १४ लाख १ हजार र उप–बिजेताले ७ लाख १ हजार प्राप्त गर्नेछ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।