१३ वर्षपछि आयोजक सहारालाई आहा ! रारा पोखरा गोल्डकपको उपाधि


     एभरेस्ट आवाज    
     फागुन ९ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, फागुन ९

आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लव पोखराले जितेको छ । सहारा क्लव पोखराको आयोजनामा पोखरा रंगशालामा शनिबार सम्पन्न फाइनल खेलमा जाउलाखेल यूथ क्लवलाई २–० गोल अन्तरले पराजित गर्दै सहाराले आहा ! रारा पोखरा गोल्डकपको २५ औं संस्करणको उपाधि जितेको हो । २०७० सालमा प्रतियोगिताको पहिलो पटक उपाधि चुमेको आयोजक सहाराले शनिबार दोस्रो पटक उपाधि जित्दै ईतिहास दोहो¥याएको छ ।

चौथो पटक फाइनल खेलेको सहारा २०६९ मा फाइनलमा पुगे पनि उपाधिबाट बञ्चित भएको थियो । त्यसको एक वर्षपछि नै २०७० मा उपाधि चुमेको सहारा २०७३ सालमा फाइनलमा पुगेर चुक्दा दोस्रो पटक उपाधि जितेर ईतिहास दोहो¥याउन असफल भएको थियो । तर यस पटक भने सहाराले कुनै गल्ती नगरी उपाधि चुमेर ईतिहासमा दोस्रो पटक उपाधि जित्नेमा आफ्नो नाम दर्ज गराएको छ ।

१४ वर्षपछि फाइनल खेलेको जावलाखेल भने ईतिहास कोर्न असफल भएको छ । २०६८ सालमा पहिलो पटक आहा ! रारा पोखरा गोल्डकपमा फाइनल खेलेको जावलाखेल त्यसबेला पनि फाइनलमा पराजित भएर उप–बिजेतामा सिमित भएको थियो । त्यसको १४ वर्षपछि शनिबार भएको भिडन्तमा पनि आयोजकसँग पराजित हुँदै उपाधि जित्नेको ईतिहास लेख्ने जावलाखेलको सपना पूरा भएन ।

उपाधि बिजेता सहारा क्लवले नगद १४ लाख १ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो भने उप–बिजेतामा चित्त बुझाएको जावलाखेलले नगद ७ लाख १ हजारसहित शिल्ड, मेडल र प्रमाण प्राप्त ग¥यो ।

शनिबारको उपाधि भिडन्तमा जावलाखेलमाथि सहारा हाबी भयो । पहिलो हाफ र दोस्रो हाफमा एक÷एक गोल गरेको सहाराले खेलको २५ औं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । प्रतियोगिता अवधीभर निर्धारित समयमा जम्मा एक गोल मात्र गरेको सहाराले फाइनलमा भने आफ्नो क्षमता अनुसारको खेल प्रदर्शन गर्यो । प्रतिष्पर्धात्मक रुपमा भइरहेको खेलमा सहाराका लागि मुकुन्दकुमार नुईरेले गोलको खडेरी तोड्दै टिमलाई टिमलाई अग्रता दिलाएका थिए । सहाराले पाएको कर्नर किकमा हेडर गर्दै सुन्दर गोलमा परिणत गरेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको सहाराले खेलको ७३ औं मिनेटमा दोस्रो गोल गद्रै अग्रता दोब्बर पा¥यो । सुशिल लामाले प्रहार गरेको लामो क्रसलाई हेडरमार्फत नै उनले जाली चुमाउँदै जित सुनिश्चित गरे ।

काउन्टर अट्याकको रणनीतिमा रहेको सहाराबिरुद्द जावलाखेलले आक्रामक रणनीति अप्नाएको थियो । तर खेलाडीबीचको समन्वय अभाव, बल होल्डमा देखिएको समस्यासँगै फिनिसिङमा चुक्दा उप–बिजेतामै चित्त बुझाउन बाध्य भयो । ६० औं मिनेटमा जावलाखेलका लागि बौबाकार सिस्सोखोले गोल गरे पनि रेफ्री प्रज्वल क्षेत्रीले अफसाईड दिए । त्यसबाहेक जावलाखेलले खासै मुभ निकाल्न सकेन ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक सहारा क्लव पोखराका मुकुन्दकुमार नुईरे भए । सहारा एकेडेमीका उत्पादन नुईरेले टेलजीको एक थान स्कुटर हात पारे । त्यस्तै, उत्कृष्ट स्ट्राईकर जावलाखेलका धर्वेन्द्र कुँवर, उत्कृष्ट मिडफिल्डर जावलाखेलकै बौबाकार सिस्सोखो, उत्कृष्ट डिफेन्डर सहाराका टाय डिनियल बडारु, उत्कृष्ट गोलकिपर सहाराका टिकेन्द्र थापा र सर्वाधिक गोलकर्ता प्लानिङ ब्वाईजका पापा ईबाउ केबे तथा उत्कृष्ट प्रशिक्षक सहाराका सुनिलकुमार राना बने । प्रतियोगिताको उत्कृष्ट ईमर्जिङ खेलाडीमा मुकुन्दकुमार नुईरे र फेयर प्लेमा आभा एफसी उज्बेकिस्तान घोषित भए । उत्कृष्ट बनेका सबैले नगद २५ हजार र ट्रफी प्राप्त गरे ।

बिजेताहरुलाई गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापा, पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीप्रतियोगिताको मुख्य प्रायोजक हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, सहारा क्लव पोखराका अध्यक्ष केशवबहादुर थापा, संस्थापक अध्यक्ष वसन्त थकाली, पूर्व अध्यक्षहरु विक्रम थकाली, बिरभद्र आचार्य, सुरज गुरुङ, केशवराज बराललगायतले पुरस्कार वितरण गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।