मिथिला मध्यमा परिक्रमाका यात्रीले महोत्तरी जिल्लाको यात्रा पूरा गरेका छन् ।
जिल्लाको भङ्गाहा–९ कञ्चनवनमा आठौँ दिनको रात्रिबास गरेका यात्री आज नवौँ दिन धनुषातिर प्रस्थान गरेका छन् । कञ्चनवन यस यात्रामा होली महोत्सवका लागि प्रसिद्ध छ । कञ्चनवन यो यात्राको आठौँ रात्रिबास हो भने महोत्तरीको पाँचौँ हो । यसअघि यात्राको चौथो दिन महोत्तरी प्रवेश गरेका यात्रीले जिल्लाका मटिहानी, जलेश्वर, मडै र ध्रुवकुण्डमा रात्रिबास गरिसकेका छन् । जनकपुरधामलाई केन्द्र बनाएर जम्मा १३३ किलोमिटरको बृत्तमा गरिने १५ दिने यो परिक्रमामा धनुषामा छ र मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा चार रात्रिबासको परम्परा छ ।
फागुन औँसीका दिन धनुषाको मिथिलाविहारी नगरपालिकाको ठेराकचुरीस्थित मिथिलाविहारी मन्दिरबाट सुरु भएको यो यात्रा मिथिलाविहारी श्रीराम र किशोरीजी सीताजीका प्रतिमा राखिएका डोला डोली साथ लगाई नाङ्गा खुट्टाले गरिन्छ । आज कञ्चनवनबाट धनुषा प्रस्थान गरेका यात्री रात्रिबास पर्वतामा गर्नेछन् । यसरी १०औँ दिन धनुषाधाम, ११औँ दिन सतोखरधाम, १२औँ दिन औरही र अन्तिम १५औँ दिनको रात्रिबास जनकपुरधामको रङ्गशाला मैदान हुनेछ । त्यसैगरी, यसअघि पहिलो दिनको रात्रिबास यात्रीले धनुषाकै हनुमानगढीमा गरिसकेका छन् ।
यस यात्रामा मित्रराष्ट्र भारतको मधुवनी जिल्लामा कल्याणेश्वर कलना, गिरिजास्थान फुलहर, करुणा र बिसौल क्रमशः दोस्रो, तेस्रो, १३औँ र १४औँ दिनका रात्रि विश्रामस्थल रहँदै आएको परम्परा छ । यस यात्रामा महोत्तरी र धनुषासमेत १०७ र भारततर्फ २६ किलोमिटरको दूरी छिचोलिन्छ ।अघि त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम र देवी सीता विवाहपछि तत्कालीन मिथिला राज्यका विभिन्न ठाउँमा वनविहार गर्दै भ्रमण गर्नुभएको विश्वासमा उहाँहरूकै पदचाप पछ्याउन यो यात्रा परम्परा बसालिएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।
मानव कल्याण र मोक्षको कामनासाथ यो यात्रा गरिने उनको भनाइ छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






