पोखरा –२५ हेमजामा सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरिएको छ ।
वडा कार्यालय हेमजाको आयोजना, वडा शिक्षा समितिको व्यवस्थापन तथा एन आर एन जापानको सहयोगमा करिव ३३ हजार बराबरको विभिन्न सामाग्री वितरण गरिएको हो। कार्यक्रममा एन आर एनका पूर्व अध्यक्ष एवं संरक्षक शिवप्रसाद पौडेलले सामुदायिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूको अध्ययनलाई सहज बनाउने उद्देश्यले वडा कार्यालयको रोहबरमा करिब ३ लाख ४० हजारको अक्षयकोष स्थापना गरी सहयोग गर्न पाएकोमा खुसी व्यक्त गरे।
उनले उक्त अक्षयकोष मार्फत आवश्यक विद्यार्थीलाई निरन्तर सहयोग पुर्याउने प्रतिबद्धता जनाउँदै आगामी दिनमा आवश्यकता र स्रोतको आधारमा कोषलाई थप वृद्धि गर्दै लैजान सकिने बताए। वडाध्यक्ष मोतीलाल तिम्सिनाले सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै, सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरी प्रदान गरिएको सहयोग अत्यन्तै उपलब्धिमूलक र प्रेरणादायी भएको उल्लेख गरे।उनले शिक्षा क्षेत्रमा गरिएको यस्ता सार्थक पहलले विद्यार्थीको भविष्य निर्माणमा महत्त्वपूर्ण टेवा पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगी संस्थासँग सहकार्य निरन्तर रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा गौरीशङ्कर मा.विका प्राचार्य अम्बर बहादुर कुँवर, विष्णु पादुका मा.विका प्राचार्य तथा वडा शिक्षा समितिका सदस्य दीपक पौडेल, गौरीशङ्कर क्याम्पसका पूर्व प्रमुख कृष्णप्रसाद पौडेल साथै एन आर एन का पूर्व अध्यक्ष एवं संरक्षक पौडेलको आमा गंगा पौडेल र भाइ विष्णुप्रसाद पौडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
वडाध्यक्ष तिम्सिनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य तारा विश्वकर्माले स्वागत तथा सञ्चालन वडा सदस्य कृष्ण बहादुर कुँवरले गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लायन्स क्लव अफ पोखरा हेमजाको लायन वर्ष २०२६–२७ का लागि नयाँ कार्यसमिति…






