सन्देश श्रेष्ठ
पोखरा, फागुन १६
गण्डकी प्रदेशमा १ हजार २ सय ९७ वटा मतदान स्थल रहेका छन् । प्रतिनिधि सभा सदस्यका लागि यहि फागुन २१ गते हुन गइरहेको निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा सो मतदान स्थल तोकिएको प्रदेश निर्वाचन कार्यालय गण्डकीले शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । ती मतदान स्थलमा २ हजार ३ सय ९६ मतदान केन्द्र रहेको पनि जनाइएको छ । यी मतदान स्थलहरुलाई संवेदनशीलताको आधारमा सामान्य, संवेदनशील र अति संवेदनशील मतदान स्थल भनेर छुट्याएको गण्डकी प्रदेशका निर्वाचन अधिकारी नारायण ढकालले जानकारी दिए । विगतको अनुभव, भौगोलिक जटिलता, अवाञ्छित गतिविधिलगायतलाई आधार बनाएर मतदान स्थलको वर्गिकरण गरिएको उनले बताए ।
गण्डकीका जिल्लाहरुमध्ये कास्कीमा सबैभन्दा धेरै १ सय ५३ मतदान स्थल रहेको र त्यसमा ३ सय ६३ मतदान केन्द्र रहेका छन् । ‘कास्कीमा पनि केहि सामान्य, केहि संवेदनशील र केहि अति संवेदनशील मतदान केन्द्रहरु छन्’–उनले भने ।
गण्डकीमा १८ लाख ७० हजार ६५ मतदाता रहेका छन् । जसमध्ये ९ लाख १४ हजार ८ सय पुरुष र ९ लाख ५५ हजार २ सय ५१ म्हिला रहेका छन् । त्यसबाहेक अन्य १४ जना मतदाता रहेको ढकालले जानकारी दिए ।
गण्डकीमा प्रतिनिधि सभा सदस्यका लागि १८ निर्वाचन क्षेत्र रहेका छन् । जसमा २ सय ३४ जना उम्मेदवार रहेका छन् । जसमध्ये २ सय ५ जना पुरुष र २९ जना महिला उम्मेदवार रहेको जनाइएको छ । गण्डकीमा कास्कीमा सबैभन्दा बढी १८ जना र सबैभन्दा कम मनाङमा ३ जनाले उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्दैछन् ।
गण्डकीको सदरमुकाम कास्कीमा ३ लाख ८ हजार ५ सय ७२ जना मतदाता रहेकोमा १ लाख ६० हजार १ सय ५३ जना पुरुष र १ लाख ४८ हजार र अन्य ४ जना मतदाता रहेका छन् । उनका अनुसार कास्कीमा २ हजार ८ सय ६१ जना रहेकामा २ हजार १ सय ४१ पुरुष र ७ सय २० जना छन् । जसका लागि दुई वटा मतदान केन्द्र स्थापना गरिएको कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलवासेले जानकारी दिए । ‘जेल जीवन बिताईरहेका कैदीबन्दीहरुका लागि कारागरमै र अन्यका लागि जिल्ला समन्वय समिति प्राङ्गणमा मतदान गर्ने व्यवस्था मिलाइएको छ’–उनले भने ।
गण्डकीमा ३ हजार मिटरभन्दा माथिको उचाईमा ५४ वटा मतदान केन्द्र रहेका छन् । जस अनुसार मुस्ताङमा १, गोरखामा १५ र मनाङमा १४ सहित विभिन्न जिल्लामा गरी कुल ५४ केन्द्र उच्च हिमाली क्षेत्रमा रहेको सूचना अधिकारी ढकालले जानकारी दिए । उनका अनुसार मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा पर्ने ४ हजार ४ सय मिटरको उचाईमा रहेको साड्ता गाउँ र मनाङको नार्पाभूमि गाउँपालिकामा पर्ने ४ हजार २ सय मिटर उचाईमा रहेका नार र फू गाउँमा रहेको मतदान स्थल पनि यथावत राखिएको छ । केहि दिनअघि भएको हिमपातका कारण नार र फू को मतदान स्थल सार्न प्रस्ताव आए पनि मौषममा सुधार आएसँगै मतदान स्थल यथावत राख्ने सहमति भएको उनले प्रष्ट्याए ।
मतदान केन्द्रमा रहेको संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था मिलाइएको उनले बताए । उनका अनुसार मतदान केन्द्रहरुलाई ३ वटा सुरक्षा घेरा बनाई सुरक्षा दिईनेछ । जसका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा बाहिरी घेरामा नेपाली सेना रहने उनले बताए । ‘तर अवाञ्छित कृयाकलाप भएको महशुष भएमा सुरक्षा व्यवस्थाको तीन घेरा भन्ने लागु हुँदैन । त्यस्तोबेला आवश्यक्ता अनुसार जुनसुकै घेरामा रहेका सुरक्षाकर्मीले जुनसुकै कदम चाल्न सक्नेछन्’–उनले भने ।
कास्कीमा अवाञ्छित कृयाकलाप गर्ने ८ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रक्रिया अगाडि बढाइएको कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् । जसमध्ये ३ जनालाई मुद्दा चलाइएको र बाँकी ५ जनामाथि अनुसन्धान भइरहेको उनको भनाई छ । उनले कास्कीमा निर्वाचनका लागि सुरक्षा व्यवस्था चुस्त र मजबुत बनाइएको उनले बताईन् । ‘निर्वाचन बिथोल्ने, अवरोध गर्ने, द्वन्द्व सिर्जना गर्नेलगायतका कृयाकलाप रोक्न विशेष टोली परिचालित भइसकेको अवस्था छ’–उनले भनिन् । कास्कीमा मात्रै ४ हजार ४ सय जना सुरक्षाकर्मी निर्वाचन लक्षित गरेर परिचालित गरिएको उनले बतार्यन् ।
निर्वाचन कार्यालय गण्डकीले गण्डकीमा रहेका ४९ उम्मेदवारमध्ये ४५ जनाले खर्च विवरणका लागि सिफारिस लिए पनि ४२ जनाले मात्रै निर्वाचन प्रयोजनका लागि बैंक खाता सञ्चालन गरेका छन् । २ जनाले बैंकको कालो सूचीमा परेकाले बैंक खाता खोल्न नसकेको तथा एक जनाको नागरिकता विवरणमा नाम फरक भएकाले खाता सञ्चालनमा समस्या देखिएको छ । अन्य ४ जनाले भने पार्टीकै बैंक खाता प्रयोग गर्ने भनेर जवाफ दिएको गण्डकी प्रदेशका प्रमुख कोष नियन्त्रक तथा अनुगमन अधिकृत रमेश अर्यालले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, बैशाख १८ प्रथम पोखरा महिला गोल्डकप फुटबल प्रतियोगितामा नेपाल पुलिस…






