हिउँ पन्छाइएपछि मुस्ताङको साङ्ता मतदान केन्द्र जाने सडक सञ्चालनमा


     एभरेस्ट आवाज    
     फागुन १८ गते २०८२ मा प्रकाशित




मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–५ स्थित साङ्ता मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडक हिउँ लगातार ६ दिनसम्म पन्छाइएपछि सञ्चालनमा आएको छ ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र सडक डिभिजन कार्यालय बाग्लुङको डोजर प्रयोग गरी सडक सञ्चालनमा ल्याइएको हो ।यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि साङ्ता गाउँबाहिर रहेका मतदातालाई गाउँ फर्काउन र मतदानस्थलको सुरक्षामा खटिने कर्मचारी तथा सुरक्षा निकायलाई उक्त मतदान केन्द्रसम्म आउजाउ गर्न असहज भएकाले सडकको हिउँ पन्छाएर सडक सञ्चालनमा ल्याइएको वारागुङ मुक्तिक्षेत्रका अध्यक्ष रिनजिननामगेल गुरुङले जानकारी दिए ।

मुस्ताङ र डोल्पा जिल्लाको सिमानामा पर्ने साङ्ता गाउँस्थित हिमाली आधारभूत विद्यालय मतदान केन्द्र जाने मुस्ताङ—डोल्पा सडक गत कात्तिक १० गते र त्यसयता तीनपटक परेको हिमपातले पूर्ण रूपमा अवरुद्ध भएको थियो । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका अध्यक्ष गुरुङका अनुसार मुस्ताङको साङ्तास्थित हिमाली आधारभूत मतदान केन्द्र जाने करिब सात किलोमिटर सडकको बाक्लो हिउँ डोजरको सहायताले पन्छाइएपछि सडक सञ्चालनमा आएको हो । यही फागुन २१ गते हुने निर्वाचनका लागि गाउँपालिकाको लगानीमा सडक खुलाइएको अध्यक्ष गुरुङको भनाइ छ ।

साङ्ता मतदान केन्द्र जाने सडक कतिपय स्थानमा १३ फिटसम्म हिउँ जमेर अवरुद्ध भएको थियो । वडाध्यक्ष सुरेन्द्र गुरुङका अनुसार हिउँ पन्छाइएपछि साङ्ता गाउँ तथा डोल्पा जाने छुकसम्वसम्मको सडक सञ्चालनमा आएको छ । हिउँ पन्छाएपछि माथिल्लो डोल्पाको छार्काताङसुङ गाउँपालिकाका मतदाता आ–आफ्नो गाउँ प्रस्थान गरेका छन् । सडकको हिउँ पन्छाइएपछि माथिल्लो डोल्पाका नागरिकलाई खाद्यान्न ढुुवानी गर्न समेत सहज भएको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरी, मुस्ताङ—डोल्पा सडकको जोड्ने साङ्ता मतदान केन्द्र जाने सडकको हिउँ पन्छाइएपछि जोमसोमबाट नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले तीन महिनादेखि अवरुद्ध रहेको टेलिफोन टावर मर्मत गरिसकेको वडाध्यक्ष गुरुङले बताए । साङ्तामा १३ घरधुरीका ३९ मतदाता छन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।