लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रले शान्ति सुरक्षा सुदृढ गर्ने उद्देश्यका साथ डाँडाको नाक प्रहरी कार्यालयलाई सीसी क्यामेरा हस्तान्तरण गरेको छ।
शनिबार आयोजित एक कार्यक्रम बीच सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनालले डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक गुणराज बुढाथोकीलाई तीन थान सीसी क्यामेरा हस्तान्तरण गरेकी हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष खनालले विकृति र विसङ्गतिरहित समाज निर्माण गर्ने अभियानअन्तर्गत सेवा केन्द्र स्थापना गरिएको बताइन्। उनले सीसी क्यामेरा जडानले यस क्षेत्रमा हुने सवारी दुर्घटना तथा ट्राफिक समस्याको व्यवस्थापनमा सहयोग पुग्ने, साथै चोरी–डकैती जस्ता आपराधिक गतिविधि पत्ता लगाउन र शान्ति सुरक्षा कायम गर्न सहज हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि डाँडाको नाक प्रहरी कार्यालयका प्रमुख डिएसपी गुणराज बुढाथोकीले सामुदायिक सेवा केन्द्रलाई धन्यवाद दिँदै वर्तमान समयमा सीसी क्यामेरा समाजको ऐना जस्तै भएको बताए। उनले लेखनाथ क्षेत्रको प्रमुख व्यापारिक केन्द्र तालचोकमा हुने विभिन्न गतिविधि तथा घटनाको अनुसन्धानमा सीसी क्यामेराले महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रविधिको प्रयोगबाट दुर्घटना, चोरी तथा अन्य आपराधिक क्रियाकलाप न्यूनीकरण गर्न मद्दत पुग्ने उनको भनाइ थियो ।सोही कार्यक्रममा सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरीले विगतमा पनि यस क्षेत्रमा सीसी क्यामेरा जडान गरिएको स्मरण गर्दै सडक निर्माण कार्यका कारण क्षतिग्रस्त भएकाले पुनः तालचोक क्षेत्रमा नयाँ क्यामेरा जडान गरिएको जानकारी दिए। उनले यसले क्षेत्रको शान्ति सुरक्षालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे ।
यसै अवसरमा सेवा केन्द्रकी अध्यक्ष गंगाकुमारी खनाल विदेश जाने कार्यक्रम भएकाले संस्थाका सह–सचिव कृष्ण रिजाललाई कार्यवाहक जिम्मेवारी हस्तान्तरण गरिएको थियो । कार्यक्रममा सामुदायिक सेवा केन्द्रका सदस्य गोपिचन्द्र वाग्ले र सह–सचिव कृष्ण रिजालले संयुक्त रूपमा सञ्चालन गरेका थिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाल भुतपुर्व खेलाडी मञ्चको रजत महोत्सवको समापन आगामी मंगलबार हुने भएको छ।…







