पुस्तक व्यवसायी महासंघमार्फत् पुस्तक बेच्न सांसद पुनलाई पोखराका मेयर आचार्यको सुझाव


     एभरेस्ट आवाज    
     फागुन २७ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नवनिर्वाचित प्रतिनिधि सभा सदस्य महावीर पुनलाई पुस्तक बेच्दै नहिंड्न सुझाव दिएका छन् ।

यहि फागुन २६ गते सोमबार पोखराका तीन फरक ठाउँमा पुस्तक बेच्ने क्रममा सांसद पुन र सर्वसाधारणबीच विवाद भएपछि आज विहान सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै उनले यस्तो सुझाव दिएका हुन् । मेयर आचार्यले नवप्रवर्तन र अनुसन्धानको अभियानका लागि देशभर पुस्तक विक्री गर्दै समर्थन जुटाउनु सराहनी भए पनि बिना दर्ता र बिना अनुमती कुनै पनि वस्तु विक्री वितरण गर्दा हुने कानूनी जटिलतार्फ भने उनले सचेत गराएका छन् । साथै पोखराका फुटपाथमा व्यवसाय गर्न निषेध गरिएकोप्रति सांसद पुनको ध्यानाकर्षणसमेत गराएका छन् । फुटपाथका अन्य व्यवसायलाई निषेध गरिरहँदा त्यो विषय सांसद पुनमाथि पनि लागु हुने बताउँदै उनले पुस्तक विक्री गर्ने जिम्मा पुस्तक व्यवसायीलाई नै दिन आग्रह गरेका छन् ।

फुटपाथमा व्यवसाय गर्नु र त्यसमाथि पनि सडकमा पुस्तक बेच्ने क्रममा विवाद हुनु उपयुक्त नभएको बताउँदै उनले भनेका छन्,‘त्यसैले माननीयज्यू, अब तपाईंको भूमिका देशका लागि नीति र कानून निर्माण गर्ने हो र पुस्तक व्यवसायीको भूमिका पुस्तक विक्री, वितरण गर्ने हो ।’ मेयर आचार्यले सांसद पुनले चाहेमा पोखरामा पुस्तक व्यवसायी महासंघमार्फत पुस्तक बेच्ने व्यवस्था मिलाईदिने पनि उल्लेख गरेका छन् ।

सडकमा पुस्तक बेच्दा उचित भुक्तानीको समस्या पनि आउनसक्ने तथा पुस्तक बेचेवापतको करबारे पारदर्शीता पनि नहुनेतर्फ सचेत गराउँदै उनले अगाडि थपेका छन्,‘यदि तपाईंको पुस्तकको स्टक उपलब्ध गराउनुभयो भने हामी महासंघमार्फत त्यसलाई विक्री गरि उचित भुक्तानी तपाईंलाई उपलब्ध गराउन सहजीकरण गर्न सक्छौं । साथै हालसम्म कति पुस्तक बिक्री, विरतण भयो भन्ने विवरण सार्वजनिक गर्न सकिएमा पारदर्शिता बढ्नुका साथै कर भुक्तानी सम्बन्धी उठ्न सक्ने प्रश्नहरुको पनि सहज जवाफ प्राप्त हुनसक्नेछ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।