महिला अधिकारका लागि कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक


     एभरेस्ट आवाज    
     फागुन २८ गते २०८२ मा प्रकाशित




महिलालाई समान अधिकार र पहुँचका लागि निती नियमको प्रभावकारी कार्यान्वयन हुनुपर्ने पोखरामा आयोजित एक कार्यक्रममा जोड दिईएको छ ।

११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको सहयोगमा, नेपाल पत्रकार महासंघ, कास्कीले आयोजना गरेको महिला संवाद कार्यक्रममा बक्ताहरुले महिलाका अधिकार सुनिश्चित गर्न कानुन निर्माण भए पनि त्यसको कार्यान्वयन पक्ष फितलो रहेको बताएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका उप प्रमुख मञ्जुदेवी गुरुङले कानुनमा नै महिलाको अधिकार र सहभागिता सुनिश्चत भई सकेको अवस्थामा अव महिलालाई कानुनको बारेमा शिक्षा र आर्थिक रुपमा माथि उठ्न आवश्यक रहेको बताईन् । उनले महानगरपालिकाले न्यायमा पहुँच वढाउन महिला पुरुष समसचेतना कार्यक्रम सहित आर्थिक सशक्तिकरणका लागि उपप्रमुखसंग महिला कार्यक्रम संचालन गरेको जानकारी दिईन् ।

कोपिला नेपालका कार्यकारी निर्देशक वीना सिलवालले अबको युगमा छोरीलाई संरक्षण सहितको होइन प्रगतिशील मायाको आवश्यक रहेको औल्याईन्। महिलालाई समान अधिकार र पहुचका लागि वंशिय र अंशिय अधिकारका लागि बनेका नीति नियमलाई प्रभावकारी कार्यान्वयनमा ल्याउनु पर्नेमा उनको जोड थियो । गण्डकी प्रदेशका प्रेस राजिष्टार बिमला भण्डारीले हरेक क्षेत्रका महिलाको आन्दोलनले नै महिलालाई अधिकार दिलाएको बताउदै आवाज उठाउन छोड्न नहुने बताईन् । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका प्रमुख नितु गर्तौलाले महिलाहरुले आफु शिक्षित र संक्षम बनाउदै लागे अर्थपुर्ण सहभागिता सुनिश्चित हुदै जाने बताईन् । पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतमले महिला महिला विचको एकता र उद्यमशीलताको विकासले नै महिलाका हक र अधिकार प्राप्त हुने बताईन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव जमुना वर्षा शर्मा, टेवान गण्डकीका अध्यक्ष शोभा पाण्डे, गैह्र सरकारी संस्था महासंघ कास्कीका अध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकीका संयोजक गणेश भण्डारी लगाएतले आफ्नो धारण राखे । नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालको अध्यक्षता सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष माधव रेग्मी र संचालन महिला उपाध्यक्ष एवम् कार्यक्रम संयोजक कञ्चन थापाले गरेकी थिईन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।