भारतीय पेन्सन क्याम्पमा भूतपूर्व सैनिक भलिबल सुरु, १९ वटा बटालियन टोली सहभागि, विजेताले १ लाख पाउने


     एभरेस्ट आवाज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित




पोखरा, चैत ४ । भारतीय पेन्सन वितरण कार्यालय (पी.पी.ओ.) पोखराको आयोजनामा सातौं संस्करण अन्तर बटालियन भूतपूर्व सैनिक भलिबल प्रतियोगिता बुधबारदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन पी.पी.ओ. पोखराका प्रभारी अधिकारी लेफ्टिनेन्ट कर्णेल चितारंजन शाहूले खेलाडीहरूलाई बल हस्तान्तरण गरी गरेका हुन्।

उद्घाटन समारोहमा भूतपूर्व अफिसर, जेसीओ, एनसीओ, वीरनारी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। साथै नेपाल एसबीआई बैंकका गण्डकी प्रदेश प्रमुख तेज बहादुर थापा, एभरेष्ट बैंकका गण्डकी प्रदेश प्रमुख चन्द्र बहादुर गुरुङ, सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका बल नारायण श्रेष्ठ तथा भूपू गोर्खा ब्रिगेडका अध्यक्ष कर्णेल (सेवानिवृत्त) सी.बी. खत्रीको पनि सहभागिता रहेको थियो।

हिजो सम्पन्न पहिलो चरणका खेलहरूमा ६/५ जीआरले ५/५ जीआरलाई २–० सेटमा पराजित गर्‍यो। ३/८ जीआरले ४/५ जीआरलाई २–० सेटमा हरायो। ५/८ जीआरले ४/१ जीआरलाई २–१ सेटले पराजित गर्‍यो। पी.पी.ओ. पोखराले २/५ जीआरलाई २–० सेटमा हराउँदै जित दर्ता गर्‍यो। पहिलो दिनका खेलहरू प्रतिस्पर्धात्मक र रोचक बनेका थिए।

आज हुने खेल तालिका अनुसार ५/५ जीआर र ४/९ जीआर, ३/९ जीआर र १/५ जीआर, ५/९ जीआर र २/९ जीआर तथा ५/४ जीआर र ६/८ जीआर बीच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगितामा १९ वटा बटालियन टोलीले सहभागिता जनाएका छन्। प्रथम पुरस्कार रु १ लाख नेपाल एसबीआई बैंकले, दोस्रो पुरस्कार रु ५० हजार एभरेष्ट बैंकले र तेस्रो पुरस्कार रु ३५ हजार सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रायोजन गरेका छन्।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।